प्रदेश २ मा काँग्रेसकै दुई मन्त्रीबीचमा लफडा

दुई नम्बर प्रदेश सरकारमा नेपाली कांग्रेसकै भागमा परेका दुई मन्त्रालयबीच खटपट सुरु भएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालय र खानेपानी तथा ऊर्जा विकास मन्त्रालयबीच क्षेत्राधिकारबारे विवाद उत्पन्न भएको हो।
भौतिक पूर्वाधार विकासमन्त्री कांग्रेस संसदीय दलका नेता रामसरोज यादव छन् भने खानेपानी तथा ऊर्जा विकासमन्त्री उनकै पार्टीका नेता ओमप्रकाश शर्मा।
कांग्रेस र माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन मुख्यमन्त्री लालबाबु राउतले मन्त्रालय फुटाएर तीनवटा बनाएका छन्।
यसअन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयबाट फुटाएर खानेपानी तथा ऊर्जा विकास मन्त्रालय बनाइएको हो।
अहिले यिनै दुई मन्त्रालयले क्षेत्राधिकारका विषयमा मातहतका कार्यालयहरूमा पत्राचार गरिरहेका हुन्। प्रदेश सरकार कार्यविभाजन नियमावली २०७८ मा प्रदेशभित्रका सिँचाइसम्बन्धी योजना कार्यान्वयन गर्ने जिम्मेवारी खानेपानी तथा ऊर्जा विकास मन्त्रालयको भएको उल्लेख छ।
आफ्नोमातहत रहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन र भूमिगत सिँचाइका कार्यालय भौतिक तथा पूर्वाधार मन्त्रालयले सञ्चालन गरिरहेको भनेर खानेपानी तथा ऊर्जा विकास मन्त्रालयले विरोध गरेको हो।
उसले ती कार्यालय आफूअन्तर्गत हुनुपर्ने दाबी गर्दै पत्राचार गरेको हो। यही साउन २५ गते मातहतका कार्यालयालाई पत्र पठाई आफ्नो निर्देशनअनुसार कामकारबाही अघि बढाउन भनेको हो।
दुई मन्त्रालयबीचको विवादले मातहतका कार्यालय भने अन्योलमा परेका छन्। यो विवाद उनीहरूको कार्यसम्पादनमा तगारो बन्ने सम्भावना बढेको छ। दुवै मन्त्रालय एउटै भवनमा छन्।