रौतहटमा हत्या गरिएका पुजारीको आरोपी वडाध्यक्ष २ लाख धरौटीमा रिहा – Madhesh Update

रौतहटमा हत्या गरिएका पुजारीको आरोपी वडाध्यक्ष २ लाख धरौटीमा रिहा

   August 13, 2021  

४ जना अझै फरार

रौतहटका पुजारी श्रीराम साहका हत्या आरोपित वडाध्यक्ष २ लाख धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत रौतहटले माधव नारायण नगरपालिका-४ खेसरहिया हनुमान मन्दिरका पुजारी साहका हत्या आरोपी वडाध्यक्ष २ लाख रुपैयाँ धरौटीमा रिहा गरेका हुन् ।

गत २०७७ भदौ ३ गते पुजारी साहको हत्या भएदेखि फरार रहेका देवाही गोनाही नगरपालिका-१ का वडाध्यक्ष शेख नुरुल्लालाई गत शुक्रबार जिल्ला अदालत रौतहटको ७ नम्बर न्यायाधीश श्यामविहारी मौर्यको एकल इजलासले २ लाख धरौटीमा रिहा गरेको हो ।

गत साउन २२ गते शुक्रबार अदालतमा हाजिर भई उनले २ लाख धरौटी राखेर रिहा भएका रौतहटका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए ।

२०७७ साल भदौ ३ गते राति ९ बजेको समयमा माधवनारायण नगरपालिका वडा नम्बर २ खेसरहिया बजारस्थित हनुमान मन्दिरका ६५ वर्षीय पुजारी साहको मन्दिर परिसरमै बसेर खाना खाँदै गरेको अवस्थामा देव्रे कन्चटमा गोली हानी हत्या भएको थियो ।

पुजारीको हत्या आरोपमा ७ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको छ । जसमध्ये रामनरेश पटेल र बालकुमार पटेललाई सोही समयमा नै प्रहरीले पक्राउ गरेको थियो ।

उनीहरू अहिले पुर्पक्षका लागि गौर कारागारमा छन् ।

पुजारी हत्यामा संलग्न देवाही गोनाही-१ का राजेन्द्र राउत कुर्मी, रामप्रवेश राउत कुर्मी, विकाउ भन्ने महम्मद काशिम र ममताज देवान अझै फरार रहेका शाहले जानकारी दिए ।

उनीहरू भारतमा लुकी बसेको प्रहरीको आशंका छ ।

वडाध्यक्ष नुरुल्लाहसहित सात जना मिलेर घटना गराएको अनुसन्धानमा खुलेपछि सोहीअनुसार कर्तव्य ज्यान मुद्दामा जाहेरी दर्ता भएको थियो ।