जनसंख्याको अनुपातमा कोरोनाविरुद्धको खोप उपलब्ध गराउन मुख्यमन्त्री राउतको माग – Madhesh Update

जनसंख्याको अनुपातमा कोरोनाविरुद्धको खोप उपलब्ध गराउन मुख्यमन्त्री राउतको माग

   August 12, 2021  

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले जनसंख्याको अनुपातमा कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउन केन्द्रीय कोरोना संकट व्यवस्थापन केन्द्रलाई आग्रह गरेका छन् ।

बिहीबार केन्द्रका प्रमुख बालानन्द शर्मा नेतृत्वको टोली सहितको बैठकमा मुख्यमन्त्री राउतले सो माग गरेका हुन् ।

सबैभन्दा बढी जनघनत्व तथा भारतसँगको खुला सीमाका कारण कोरोना महामारीको अति जोखिममा रहेको प्रदेश-२ लाई जनसंख्याको अनुपातमा भ्याक्सिन उपलब्ध हुन नसकेको उनको गुनासो थियो ।

शर्मा नेतृत्वको टोली प्रदेशमै आएर प्रदेश सरकार र सरोकारवालासँग छलफल गरेको थियो ।

सो क्रममा मुख्यमन्त्रीले महामारी नियन्त्रणका लागि आफुहरुले उच्चतम प्रयास गर्दै पहिलो र दोस्रो लहरको सामना गर्न सकेको उल्लेख गर्दै सम्भावित तेस्रो चरणको लागि समेत तयारी अवस्थामा रहेको बताए । त्यसमा केन्द्रको पनि सहयोग र समर्थन आवश्यक रहेको उनको भनाइ थियो ।