पर्सामा लोभ देखाएर १५ वर्षीय युवतीलाई बलात्कार गर्ने पक्राउ
विवाह गर्ने प्रलोभन देखाएर १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । किशोरीलाई जबरजस्तीकरणी गरेको आरोपमा पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर २ पिपराटोल २५ वर्षीय धर्मराज साह कानुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका कानुले गत असार १४ गते राति किशोरीको घरमा गई बिहे र जागिर लगाई दिने भनि जबरजस्तीकरणी गरेको आफन्तको आरोप छ ।
उनले किशोरीलाई पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ४ स्थित बाँसघारीमा लगेर जबरजस्ती करणी गरेको आरोप छ। त्यसपछि पनि उनले किशोरीलाई आफूसँगै राखी पटकपटक जबरजस्ती करणी गरेको आफन्तले बताएका छन् ।
किशोरीका अभिभावकले दिएको जाहेरीको आधारमा प्रहरीले कानुलाई पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए।
पक्राउ परेका युवकलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको उनले बताए ।