छ दिन पछि दिन तराई मधेशको मौसममा सुधार – Madhesh Update

छ दिन पछि दिन तराई मधेशको मौसममा सुधार

   July 4, 2021  

एक हप्ताको लगातारको झरी पश्चत थराई मधेशका जिल्लाहरुको मौसममा आज सुधार देखिएको छ । पाँच दिनको लगातारको झरीपछि आज आकाश उघ्रेर घाम लागेपछि राहत महसुस भएको हो । लामो झरीले कामकाज गर्न नपाएर जकडिएका यहाँका बासिन्दामा आज एकाबिहानै घाम देखिएपछि अब मौसम सफा भएको विश्वासमा सर्वसाधारण काममा निस्केका थिए ।

गत मङ्गलबारदेखिको लगातारको वर्षाले कतै निस्कन नपाएर जनजीवन अस्तव्यस्त बनेको थियो । छैटौँ दिन आज एकाबिहानै चर्को घाम लागेसँगै यहाँबाट हिमाल झलमल्ल देखिएपछि अबचाहिँ पानी थामिएर मौसम उघ्रिएको आम महोत्तरीवासीको भनाइ छ । अब आ–आफ्ना काममा लाग्न सहज बनेको सर्वसाधारणले बताएका छन् ।

एकाबिहानै घाम लागेसँगै महोत्तरीका सबैतिरजसो बजारु चहलपहल ह्वात्तै बढेको छ । यसपालि असार लागेसँगै छिनछिनमा परेको पानी र पछिल्ला पाँच दिन घाम नै नदेखिएर लगातार परेको चोटिलो पानीले जनजीवन वाक्कदिक्क नै बनेको थियो । मौसम सफा भएपछि आम किसानले राहत महसुस गरेका छन् । अब दुई÷चार दिन लगातार घाम लागे तरकारी खेती गोडमेल, खेतबारी खनजोत गर्न र रोपाइँका काममा लाग्न पाइने किसानले आश सँगालेका छन् ।

“हेर्नोस् न, झरीले केही गर्न दिएको थिएन, सबै काम असरल्ल थियो”, जिल्लाको बर्दिवास नगरपालिका–७ मनहरिपुरका किसान विन्देश्वर यादवले भन्नुभयो, “बल्ल कति दिनपछि राम्ररी घाम देख्न पाइयो, अब भने तरकारी गोडमेल, वस्तुभाउको चरण र बाँकी रोपाइँ गर्न पाइने आश जाग्यो ।”

मौसममा सुधार देखिएसँगै अब तरकारी गोडमेल र नयाँ खेतीका लागि खेतबारी खनजोत र रोपाइँमा लाग्न अनुकूल हुने यहाँका किसान बताउँछन् । मौसममा आएको सुधारले तरकारी बारी केही रुखिएपछि गोडमेल गर्न सकिने भङ्गाहा–४ रामनगरका किसान चन्देश्वर राय दनुवारको भनाइ छ । यसअघि लगातारको वर्षाले तरकारी बारीमा गोडमेल गर्न नसकिँदा झारले छोपेर तरकारीका बेर्ना र लहरा पहेँलिदै गएका थिए ।

अहिले मौसममा सुधार देखिएसँगै पशुपालक किसानले गोठमै बाँधिएर रहेका घरपालुवा पशुवस्तु ९गाई, भैँसी, बाख्रापाठा० फुकाउन, डुलाउन पाएका छन् । चरन क्षेत्र पानीले डुबाएको भए पनि पशुवस्तुलाई आङ तन्काउन भने ९डुलाउन० पाइएको पशुपालक किसानको भनाइ छ । धेरै दिनपछि पारिलो घाम लागेपछि लुगा धुने व्यवसायका धोबीलाई पनि राहत भएको छ । “धेरै दिनदेखि ग्राहकले धुन दिएका लुगा पानी परिरहेर घरमै थुप्रिएको थियो”, जिल्लाको बलवा नगरपालिकाको बन्चौरीका मुस्लिम बैठा धोबीले भन्नुभयो, “अब भने काम गर्न पाइने भइयो ।”

रापिलो घाम लागेर आकाश सफा भएपछि अब केही दिनमै हिलाम्य बाटाघाटा सुकेर हिँडडुल सहज हुने आम सर्वसाधारणको विश्वास छ । पछिल्लो पाँच दिनको लगातारको वर्षा र त्यससँगै आएको बाढीले जिल्लाका सयौँ घर डुबानमा परेका छन् । अब मौसम उघ्रेसँगै तिनको उद्धार कार्य पनि सहज हुने देखिएको छ ।