मटिहानी नगरपालिकामा तालाबन्दी – Madhesh Update

मटिहानी नगरपालिकामा तालाबन्दी

   June 23, 2021  

महोत्तरी जिल्लाको मटिहानी नगरपालिकामा आज एकातिर नगरसभा भइरहेको बेला अर्कोतिर पाँच दलले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले विपक्षी दल तथा आम सर्वसाधारण जनतालाई सोधपुछ नै नगरी नगरपालिकाको कार्यालयभन्दा बाहिर बन्द कोठामा नगरसभा गरेको आरोप लगाउँदै नगरपालिकाको कार्यालयमा पाँच दलले तालाबन्दी गरेका हुन् ।

नेकपा (माओवादी केन्द्र)का जिल्ला सदस्य राजकिशोर मण्डल, जनता समाजवादी पार्टी नेपाल (उपेन्द्र यादव पक्ष)का नगर अध्यक्ष रामनन्दन यादव, नेपाली काँग्रेसका नगर संयोजक रामपदार्थ साह, नेकपा एमाले (माधव नेपाल पक्ष) का नगर कमिटी अध्यक्ष लालबाबु यादव र जनमत पार्टीका नगर कमिटी अध्यक्ष जगतलाल यादवले आज दिउँसो मटिहानी नगरपालिकाको कार्यालयमा संयुक्त रुपमा तालाबन्दी गर्नुभएको छ ।

पाँच दलका नेताहरुले प्रमुख मण्डलले विभिन्न आर्थिक अनियमितता गरेको र मनोमानी रुपमा योजना छनोट गरेको आरोप लगाएका छन् । नेपाली काँग्रेस जयकुमार चौधरीले नगरप्रमुखले गरेका अनियमितताविरुद्ध बर्दिबासमा रहेको अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय र केन्द्रीय कार्यालयमा समेत उजुरी दिइसक्दा पनि कुनै कारबाही नभएको बताउनुभयो । यता आजै दिउँसो नगर प्रमुख मण्डलले वडा नं ८ मा अवस्थित राष्ट्रिय संस्कृत माध्यामिक विद्यालयको सभाहलमा नगरपालिकाको सातौँ नगरसभा सम्पन्न गर्नुभएको छ ।