प्रदेश प्रमुखद्वारा महाकवि विद्यापतिको प्रतिमा संरक्षण

प्रदेश २ का प्रमुख डा राजेश झा ‘अहिराज’ र सखी बहिनपा मैथिलानी समूहद्वारा वीरगञ्ज महानगरपालिका—१६ स्थित उपेक्षित अवस्थामा रहेको महाकवि विद्यापतिको प्रतिमा सफा गरी संरक्षण गरिएको छ । सखी बहिनपा मैथिलानी समूहका संस्थापिका आरती झाका अनुसार २०६१ वैशाख २१ गते निर्माण गरिएको सो प्रतिमा संरक्षणका अभावले अस्तित्वविहीन बनेको थियो ।
प्रदेश प्रमुखले आज महाकवि विद्यापतिको प्रतिमालाई सफा गरी माल्यार्पण समेत गर्नुभयो । उहाँले राष्ट्रिय धरोहरप्रति उदासीन हुनु चिन्ताको विषय भएको चर्चा गर्दै यस्ता सम्पदाको संरक्षणका लागि आफ्नो सहयोग सधैँ रहने बताउनुभयो । प्रदेश प्रमुख अहिराजले सेना र सखी बहिनपा समूहका सदस्यहरूको सहयोगमा प्रतिमालाई सफा गरी संरक्षण प्रदान गर्नुभएको हो ।
वीरगञ्ज उपमहानगरपालिका र महाकवि विद्यापति प्रतिमा निर्माण समिति र मैथिली साहित्य साहित्य परिषद्द्वारा स्थापित सो प्रतिमाको २०५८ असार १६ गते तत्कालीन पुनरावेदन अदालत हेटौँडाका मुख्य न्यायाधीश परमानन्द झाले शिलान्यास र २०६१ वैशाख २१ गते तत्कालीन भारतीय राजदूत श्याम शरणले अनावरण गर्नुभएको थियो ।