ढुंगा-गिटी-बालुवा निकासी गर्ने निर्णयको उपेन्द्र यादवद्धारा विरोध

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले व्यापार घाटा न्यूनीकरण गर्न खानीजन्य ढुंगा, गिटी, बालुवा निकासी गर्ने भनि सरकारले गरेको घोषणाप्रति आपत्ति जनाएका छन् ।
अध्यक्ष यादवले एक विज्ञप्ति जारी गरी यो कार्य वातावरणीय हिसाबले घातक रहेको उल्लेख गरेका छन् । यसले नवधनढ्यदेखि व्यवसायीलाई फाइदा नै भएपनि सबैभन्दा बढी प्रभाव चुरेको संवेदनशील क्षेत्रमा नै पर्ने र त्यसले तराई मधेशमा ठूलो प्राकृतिक संकट आउने दावी गरेका छन् ।
व्यापार घाटा काम गर्ने नाममा बजेटमार्फत ढुंगा, गिटी, बालुवा निकासी गर्ने घोषणा गरिनु राष्ट्रघाती कार्य रहेको उल्लेख गर्दै अध्यक्ष यादवले यसले मधेशका भूमिको उर्वरता समाप्त भइ जनताको जीवन नै संकटमा पर्ने उल्लेख गरेका छन् ।
वैज्ञानिक, पर्यावरणीय तथा वातावरणीय अध्ययन नगरी ढुंगा, गिटी, बालुवा आदि उत्खनन गरी निर्यात गर्ने कार्य बन्द गर्नुपर्ने उनको भनाइ छ । अन्यथा मधेसलाई मरुभूमीकरण हुने कार्यबाट जोगाउन र त्यहाँका जनताले आफ्नो जीवन रक्षाका लागि संघर्ष गर्न बाध्य हुने उनले चेतावनी दिएका छन् ।