लुम्बिनीमा जसपाका चार सांसदले पनि मत दिन पाउने निर्वाचन आयोगको निर्णय – Madhesh Update

लुम्बिनीमा जसपाका चार सांसदले पनि मत दिन पाउने निर्वाचन आयोगको निर्णय

   May 30, 2021  

सोमबार हुने लुम्बिनी प्रदेशमा उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) का चार सांसदले मतदान गर्न पाउने भएका छन्। निर्वाचन आयोगले मतदान हुनु एक दिनअघि उक्त निर्णय गरेको हो।

प्रदेश निर्वाचन कार्यालय लुम्बिनी प्रदेशले सूचना प्रकाशित गर्दै यसअघि सूचीमा नपरेका जसपाबाट मन्त्री रहेका सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, कल्पना पाण्डे र सुमन शर्मालाई पू्रक मतदाता नामावलीमा समावेश गर्ने जानकारी दिएको छ। यससँगै उनीहरुले मतदान गर्न पाउने भएका हुन्। यसअघि निर्वाचन आयोगले उनीहरूको नाम समावेश गरेको थिएन।

माओवादी केन्द्र परित्याग गरेर एमालेमा प्रवेश गरेका चन्द्रबहादुर खड्का कारबाहीमा परेका थिए। खड्काको रिक्त स्थानमा लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि सोमबार (भोलि) उपनिर्वाचन हुँदै छ। एमालेले खड्कालाई नै उम्मेदवारमा उभ्याएको छ। पदमुक्त भएका खड्कासँग दल त्याग गरेकै उम्मेदवार भिड्दै छन्। उनका प्रतिस्पर्धी विपक्षी गठबन्धनका दृगनारायण पाण्डे छन्। एमाले सांसद पाण्डे वैशाख १९ मा लुम्बिनी प्रदेश सभा सदस्यबाट राजीनामा दिएर कांग्रेस प्रवेश गरेका थिए।

चारजना सांसदको नामावली समावेश भएसँगै प्रदेश सभाबाट मतदाता ८३ पुगेका छन्। स्थानीय तहका प्रमुखरउपप्रमुख र अध्यक्षरउपाध्यक्ष गरी २१७ मतदाता छन्।

२०७६ माघमा १९ जना सांसदको दुई वर्षे पदावधि राष्ट्रिय सभाबाट सकिँदा भएको निर्वाचनमा कांग्रेसले ७ जना सांसद गुमाएको थियो। तत्कालीन समयमा कुल १३ जना सांसदमा सात जना उम्मेदवार नै पराजित हुँदा राष्ट्रिय सभामा कांग्रेस ६ जनामा खुम्चिएको थियो।

विपक्षी दलको साझा उम्मेदवार बनेका कांग्रेसका पाण्डेले जित निकाल्ने देखिएको छ। उनलाई कांग्रेस, माओवादी केन्द्र, जसपा (उपेन्द्र पक्ष),माधव नेपाल पक्ष र जनमोर्चाबाट मत प्राप्त हुने भएको छ। विपक्षी गठबन्धनका पाण्डे स्थानीय तहका मतदाताबाट विजयी हुने निश्चित देखिएको हो।