जसपा नेता जितेन्द्र सिंहको निधन

जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य जितेन्द्र सिंहको निधन भएको छ ।कोरोना संक्रमित भएर गम्भीर अवस्थामा सिंहलाई उपचारका लागि वीरगञ्जबाट हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो । मेडिसिटी अस्पतालमा उपचारका क्रममा उनको मंगलवार निधन भएको छ ।
उनी बारा जिल्लाको पचरौटा नगरपालिकाका पिपरपाती गाउँका निवासी थिए । २०६४ सालको मधेश आन्दोलनमा नेपाली कांग्रेस परित्याग गरेर उनी तराई मधेश लोकतान्त्रिक पार्टीमा आवद्ध भएका थिए ।
तमलोपाबाट उनले २०६४ र २०७० सालको संविधान सभाको निर्वाचनमा बारा क्षेत्र नम्बर १ बाट चुनाव लडेका थिए ।
तमलोपामा उनी केन्द्रीय महासचिव थिए । वन विज्ञान अध्ययन संस्थान हेटौंडामा विद्यार्थी हुँदा २०४४ देखि २०४६ सालसम्म उनी स्वतन्त्र विद्यार्थी युनियनको सभापति भएका थिए ।