सिरहामा मधेश आन्दोलनका अगुवा कृष्णबहादुर यादवको निधन – Madhesh Update

सिरहामा मधेश आन्दोलनका अगुवा कृष्णबहादुर यादवको निधन

   April 20, 2021  

पहिलो मधेश आन्दोलनताका सिरहाको लहानमा अगुवाइ गरेका कृष्णबहादुर यादवको आज निधन भएको छ । विराटनगरमा एक महिनादेखि उपचारका क्रममा यादवको निधन भएको हो । २०६३–६४ को मधेश आन्दोलनलाई लहानबाट अगुवाई गरेका यादव मृगौला रोगी थिए । यादवको निधन भएको उनका छोरा विद्यानचन्द्र यादवले बताए ।

२०६४ फागुन ५ गते लहानबाट मधेश आन्दोलन सुुरु हुँदा उनले त्यसको नेतृत्व गरेका थिए । आन्दोलनको क्रममा पटक पटक थुनामा परेका यादव मधेशको अधिकारका लागि संघर्षरत थिए । मधेश आन्दोलनको मर्मअनुसार मधेसवादी दलले काम नगरेको भन्दै असन्तुष्ट रहेका यादव पछिल्लो समय तत्कालिन मधेशी जनअधिकार फोरम नेपालबाट अलग थिए । उनी राजनीतिबाट अलग भएपछि सदाबहार आन्दोलनकारीको रुपमा चिनिन्थे ।

तत्कालिन मधेशी जनअधिकार फोरम नेपालका संस्थापक सदस्य समेत रहेका यादव विद्यार्थीकालदेखि नै आन्दोलनकारी थिए । आफ्नो गाउँमा भ्रष्टाचार विरुद्धको आन्दोलन गर्दा उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनी धेरै पहिलादेखि मृगौलाका रोगी थिए । यादवका दुई छोरा र दुई छोरी छन् ।