सिके राृत नेतृत्वको जनमत पार्टीको पहिलो महाधिवेशन जनकपुरमा सुरु

सिके राउत नेतृत्वको जनमत पार्टीको पहिलो महाधिवेशन शनिबार देखि जनकपुरमा सुरु भएको छ । सो महाधिवेशनमा पाँच हजार प्रतिनिधि र २५ सय स्वयंसेवकको सहभागिता रहेको उक्त पार्टीले जनाएको छ ।
एक दिवसीय महाधिवेशन भनिए पनि महाधिवेशन भोली मात्रै नयां नेतृत्व चयन गर्दे सकिने छ । महाधिवेशनमा अतिथिका रुपमा सहिद परिवार, जेलनेल भोगेका तथा घाइते, आन्दोलनका क्रममा मुद्दा खेपेकाहरूलाई बोलाइएको थियो ।
उद्घाटन सत्र सकिएपछि आजै नै ३ बजे बन्दसत्र सुरु भएको छ ।
जनमत पार्टीको ५१ सदस्यीय केन्द्रीय कार्यसमिति हुनेछ । त्यसमध्ये अध्यक्षसहित ३९ सदस्यीय कार्यसमितिका लागि सम्भवतः आजै नत्र भोलि मतदान हुनेछ । बाँकी १२ वटा पदमा पछि मनोनित गरिनेछ ।
अध्यक्ष, उपाध्यक्ष–४, महासचिव, उपमहासचिव र बाँकी सबै केन्द्रीय सदस्यका लागि पाँच हजार महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् । तीन उपाध्यक्ष, सात सचिव, प्रवक्ता र कोषाध्यक्ष पछि मनोनित हुनेछन् ।
लामो समय पृथकतावादी अभियान चलाएका सिके राउत २०७५ फागुन २४ गते सरकारसँग ११ बुँदे सम्झौता गरेर मूलधारका राजनीतिमा आएका थिए । उनी मूलधारको राजनीतिमा आएपछि जनमत पार्टी गठन गरेका थिए । सोही जनमत पार्टीको पहिलो महाधिवेशन हुन लागेको हो ।
महाधिवेशन सफल पार्नका लागि सहभागी स्वयं सेवकहरूलाई दुई दिनदेखि जनकपुरको बाह्र बिघामा प्रशिक्षण दिइएको थियो ।