भारतीय सहयोगमा बन्दै गरेको हुलाकी राजमार्गको १३ सडक हस्तानान्तरण – Madhesh Update

भारतीय सहयोगमा बन्दै गरेको हुलाकी राजमार्गको १३ सडक हस्तानान्तरण

   March 31, 2021  

भारत सरकारसँगको सहकार्यमा बनिरहेको पुर्व पश्चिम सम्मको तराई मधेश जोडने हुलाकी राजमार्गमा पर्ने १३ वटा खण्ड निर्माण सम्पन्न भई हस्तान्तरण भएको छ । बुधबार भौतिक योजना तथा यातायात मन्त्रालयमा एक कार्यक्रमका बीच नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङलाई निर्माण सम्पन्न भएका सडकखण्डहरु हस्तान्तरण गरे ।

कुल १ हजार ८ सय ५७ किलोमिटर लम्बाई भएको हुलाकी राजमार्गको २ सय ७३ किलोमिटर आज हस्तान्तरण गरिएको छ । योसँगै हुलाकी राजमार्गलाई जोडने वीरगञ्ज–ठोरी ३० किलोमिटर सडकखण्ड निर्माण सम्पन्न हुने चरणमा छ ।

हस्तान्तरण कार्यक्रममा मन्त्री नेम्वाङले नेपालको भौतिक पूर्वाधारको विकासमा भारतीय सहयोग महत्वपूर्ण रहेको बताए ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत क्वात्राले नेपालको विकासका लागि भारतले सक्दो सहयोग गर्ने बताए । भारतले छिमेक पहिलो नीति लिएर छिमेकी देशको भौतिक पूर्वाधारको विकास, सामाजिक विकास र आर्थिक उन्नति हुनेगरी सहयोग गरिरहेको बताए । नेपालसँग त रोटीबेटीको सांस्कृतिक सम्बन्ध पनि रहेको हुँदा सँधै सहयोग गरिरहने बताए ।

आगामी महिना जनकपुर–जयनगर रेल सञ्चालन हुने अवस्थामा रहेको र त्यसका लागि भारत सरकारबाट प्राविधिक र जनशक्ति सहयोग भएको पनि बताए । यस्तै रक्सौल–काठमाडौं रेलमार्गका लागि डिपिआर तयार गर्ने काम पनि भारतीय सहयोगमा भइरहेको पनि राजदूत क्वात्राले बताए ।

सडक हस्तानान्तरण कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्र नाथ श्रेष्ठ, उप—सचिव श्री केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक श्री अर्जुन जंग थापा, हुलाकी राजमार्ग निर्देशनालयका परियोजना निर्देशक श्री रोहित कुमार बिसुराल र भारतीय राजदूतावासका परियोजना प्रभागका प्रमुख श्री प्रफुल्लचन्द्र शर्मा उपस्थित थिए ।

कार्यक्रममा नेपालको तराई क्षेत्रका सडक पूर्वाधारलाई स्तरोन्नत गर्ने सम्बन्धमा भारत र नेपालबीच भएको सहमति अनुरुप नेपाल सरकारले दश अत्यन्त आवश्यक सडकको पहिचान गरेको हो जुन भारत सरकारको नेरु ८०० करोड आर्थिक सहयोगमा निर्माण भइरहेको जानकारी समेत दिइएको थियो ।

हुलाकी राजमार्गको सहायक वाटोहरुमा पर्ने यी सडकहरु पूर्व—पश्चिम राजमार्गमा अवस्थित प्रमुख शहरहरुलाई भारत—नेपाल सीमासँग पनि जोडदै छन ।

प्रदेश नं १, २ र ५ का सात सीमावर्ती जिल्लामा अवस्थित यी सडकहरुले २८४ भन्दा बढी वडा, १४९ वटा गाउँ, १८ वटा गाउँपालिका, १८ वटा नगरपालिका, एक उप–महानगरपालिका र एक महानगरपालिकाका जनताहरुलाई जोड्ने छन ।

निर्माण सम्पन्न भइ हस्तानान्तरण भएका तराई सडक प्याकेजका नाम, लम्बाई यस प्रकार छन्

१ मनमत—कलैया—मटियर्वा,प्याकेज-१  १५.००km बारा
२ मनमत—कलैया—मटियर्वा,प्याकेज २  ११.६६km बारा
३ बीरेन्द्रबजार—यदुकुहा—महिन्थपुर, प्याकेज १  १७.००km धनुषा
४ बीरेन्द्रबजार—यदुकुहा—महिन्थपुर, प्याकेज २  १५.३१km धनुषा
५ जनकपुर— यदुकुहा  १६.६३km धनुषा
६ माइस्थान—गौशालाबजार—सम्शी  २६.९४km महोत्तरी
७ जलेश्वर—हर्दी  २७.२६km महोत्तरी
८ लमही—कोइलाबास  ३३.४७km दाङ्
९ कानेपोखरी—रङ्गेली  २५.४०km मोरङ्ग
१० कल्याणपुर—बरसाइ—सुभ्रानपट्टी  १७.२८km सप्तरी
११ तामागढी—सिम्रौनगढ, प्याकेज -१  २०.००km बारा
१२ तामागढी—सिम्रौनगढ, प्याकेज -२   १९.७४५km बारा
१३ बीरगंज—ठोरी, प्याकेज-१    २५.६०km पर्सा
१४ बीरगंज—ठोरी, प्याकेज-२   ३०.००km पर्सा