सरकार-थरुहट संघर्ष समिति विचमा वार्ता – Madhesh Update

सरकार-थरुहट संघर्ष समिति विचमा वार्ता

   March 30, 2021  

सरकार र थरुहट संघर्ष समितिबीच सोमबार पहिलो चरणको वार्ता भएको छ । गृह मन्त्रालयमा भएको वार्ता सकारात्मक भएको दुवै पक्षले प्रतिक्रिया दिएका छन् ।

वार्तामा थरुहट संघर्ष समितिले टीकापुर घटनालाई आपराधिक घटना नभई राजनीतिक घटनाको रुपमा हेर्न आग्रह गरेको थियो । सरकारले भने यसबारेमा थप अध्‍ययन गर्नुपर्ने भन्दै समय मागेको संघर्ष समितिको तर्फबाट वार्ता टोली संयोजक रुक्मिणी चौधरीले बताइन् ।

२०७२ भदौमा कैलालीको टीकापुरमा भएको थरुहट आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जनाको मृत्यु भएको थियो । उक्त घटनामा दोषी ठहर भएका सांसद रेशम चौधरीसहित नेताहरु जेलमा छन् ।

‘पहिलो चरणको वार्ता सकारात्मक भयो, हामीले टीकापुरको घटनालाई जबरजस्ती आतंककारीको बिल्ला नभिराउन आग्रह गर्‍यौं । उहाँहरुले अध्‍ययन गर्छौ भन्‍नुभएको छ’ उनले भनिन् ।

सरकारले हिजो मात्रै गठन गरेको वार्ताटोलीमा गृहमन्त्री रामबहादुर थापा संयोजक रहेको छ भने टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार भट्टराई र पूर्वसांसद भगवती चौधरी सदस्य रहेका छन् ।

थरुहट संघर्ष समितिका तर्फबाट रुक्मिणी चौधरीको संयोजकत्वमा प्रेमीलाल चौधरी, पदमनारायण चौधरी, चन्द्रप्रसाद चौधरी, प्रभात चौधरी वार्ता टोलीमा छन् ।

२०७२ भदौमा टीकापुर घटनामा थारु कल्याणकारी सभाका अध्यक्ष धनिराम चौधरी, सांसद रेशम चौधरी लगायतमाथि लगाइएको मुद्दा फिर्ता गरिनुपर्ने, थरुहट आन्दोलनको क्रममा मारिएकाहरुलाई शहीद घोषणा गर्नुपर्ने, लोकसेवा आयोगलगायत राज्यका विभिन्न निकायमा थारु समुदायका लागि छुट्टै आरक्षणको व्यवस्था गर्नुपर्ने सहितका १९ बुँदे माग राखेर केही दिनदेखि उनीहरु आन्दोलनमा छन् ।