‘होली-शुभकामना’ को निहुमा प्रचण्डद्धारा मधेसी नेतालाई फोन – Madhesh Update

‘होली-शुभकामना’ को निहुमा प्रचण्डद्धारा मधेसी नेतालाई फोन

   March 29, 2021  

जनता समाजवादी पार्टी (जसपा) का नेताहरुलाई सोमबार बिहानै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले टेलिफोन गरे । प्रचण्डको फोन आउँदा मधेसी नेताहरु नयाँ सरकार गठनबारे कुरा गर्न लागेका हुन् भन्ने सोचाइमा थिए । तर, प्रचण्डले राजनीतिको कुरो गरेनन् ।

जसपाका एक नेताका अनुसार प्रचण्डले होलीको शुभकामना दिनका लागि मधेसी नेताहरुलाई बिहानै टेलिफोन गरेका हुन् । प्रचण्डले उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका नेताहरुलाई फोन गरेर होलीको शुभकामना दिएका थिए ।

पहाड र तराईमा दुई दिन मनाइने होली पर्व आइतबार उपत्यका र पहाडमा मनाइयो भने सोमबार तराई–मधेसमा होली मनाइएको छ ।

ओलीविरोधी समीकरणमा आउन हिच्किचाइरहेका मधेसी नेताहरुलाई प्रचण्डले राजनीतिक कुराकानी नगरे पनि होलीको शुभकामना दिएर सम्बन्ध सुधार्न खोजेको हुन सक्ने जसपा नेताहरु बताउँछन् । जसपाका एक नेताले भने, ‘उहाँले फोन गरेर होलीको शुभकामना दिनुभयो, हामीले पनि शुभकामना दियौँ ।’