सीमा नाका खोल्न माग गर्दै वीरगञ्जका व्यवसायी काठमाडौंमा – Madhesh Update

सीमा नाका खोल्न माग गर्दै वीरगञ्जका व्यवसायी काठमाडौंमा

   March 17, 2021  

वीरगञ्जका होटल तथा पर्यटन व्यवसायीले भारतीय सीमा नाका खोल्न माग गर्दै काठमाडौं आएका छन् । उनीहरुले बुधबार उपप्रधानमन्त्री ईश्वर पोखरेल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई भेटेर अन्तर्राष्ट्रिय नाका खुला नहुँदा आफ्नो व्यवसाय चौपट भएको गुनासो गरे ।

होटल तथा पर्यटन व्यवसायी संघ पर्सा र पर्यटन पत्रकार संघ पर्साको टोलीलै मन्त्रीहरुलाई ज्ञापनपत्र बुझाउँदै अहिलेको कहालीलाग्दो अवस्थाबाट होटल तथा पर्यटन व्यवसायलाई जोगाउन आग्रह गरे ।

पर्यटन क्षेत्रको पुनरुत्थानको लागि वीरगञ्जलगायत सबै अन्तर्राष्ट्रिय नाका खोल्न आग्रह गरिएको होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले जानकारी दिए । विगतमा वीरगञ्जका होटलमा भारतीय पाहुनाको हिस्सा ७० देखि ८० प्रतिशतसम्म थियो ।

कोरोना महामारीका समयमा २०७६ चैत ११ गते सरकारले बन्द गरेको नेपाल–भारत सीमा नाकामा आउजाउ गर्न दिए पनि भारतीय सवारी साधन ल्याउन प्रतिबन्ध कायमै छ ।

२०७७ कात्तिक ६ गतेदेखि भारत सरकारले आफ्नोतर्फबाट नाका खुला गरिसकेको छ । नेपालले भने वीरगञ्जसहितका देशका अन्तर्राष्ट्रिय नाका औपचारिक रुपमा खोलेको छैन ।

वीरगञ्ज नाकामा भारतबाट मानिसको आउजाउ चलिरहेको छ । मालबाहक सवारीबाहेक अन्य सवारी साधनलाई सीमामा खटिएका सुरक्षकर्मीले नाकामै रोकेर फिर्ता पठाइदिने गरेका छन् ।

असहज अवस्थाका कारण भारतीय पाहुना वीरगञ्ज आउन सकेका छैनन् । आइहाले पनि दशगजा क्षेत्रमै वा भारतीय सहरमा सवारी साधन थन्क्याएर पैदल वीरगञ्ज आउने गर्छन् ।

निजी सवारी साधन लिएर सपरिवार आउन र गाडी रिजर्व गरेर नेपाल घुम्न आउन पाइरहेका छैनन् । भारतीय पाहुना नआउँदा सञ्चालन खर्च समेत धान्न नसकेको सीमा क्षेत्रका होटल सञ्चालकहरु बताउँछन् ।

वीरगञ्जमा होटल लर्डस दियालो, क्लार्क, भिश्वा, मकालु, कैलाश, कन्ट्री ईन, पुजन, सुरज लगायत साना ठूला गरी ८० वटा होटल छन् । अधिकांश होटल भाडाका घरमा सञ्चालित छन् । लामो समय होटल बन्द भएका कारण ७ महिनादेखि घरबहाल तिर्न नसकेको गुनासो व्यवसायीहरुको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानहरु भइरहेका छन् । नाकाहरुबाट सबै प्रकारका मालबाहक सवारी तथा सर्वसाधारण आउजाउ गरिरहेका छन् । तर भारतीय सवारी साधनलाई मात्रै प्रतिबन्ध छ ।

सीमा नाका पूर्ववत ढंगले नखुलेसम्म घुमफिर, रोमाञ्चक पर्यटन, औद्योगिक पर्यटन, पर्यापर्यटन र विहेबारीका लागि भारतीय पाहुना नेपाल आउँदैनन् । जसले गर्दा वीरगञ्ज मात्रै नभएर सौरहा, पोखरा, हेटौंडा, काठमाडौं लगायत ठाउँको पर्यटनसमेत प्रभावित हुने व्यवसायीको दावी छ