राजु सदा घटना छानबिन गर्न समिति गठन – Madhesh Update

राजु सदा घटना छानबिन गर्न समिति गठन

   June 26, 2020  

प्रदेश दुईको प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको राजु सदाको घटना छानबिन गर्न प्रदेश २ को सामाजिक विकास मन्त्रालयले बिहीबार तीन सदस्य छानबिन समिति गठन गरेको छ । संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनमा छानबिन समिति गठन गरिएको हो ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक हरिचन्द्र साहको नेतृत्वमा गठन गरिएको छानबिन समितिमा सामाजिक विकास मन्त्रालयको अस्पताल विकास तथा चिकित्सक सेवा महाशाखा प्रमुख नवलकिशोर झा र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन उपसचिव दिलीपकुमार प्रधान सदस्य रहेका छन् । समितिलाई घटनाको छानबिन गर्न सात दिनको म्याद दिइएको छ ।

प्रदेश सरकारद्धारा ५ लाख

प्रदेश २ सरकारले जनकपुरस्थित प्रादेशिक अस्पतालको आइसोलेशनमा मृत्यु भएका धनुषा हंसपुर नगरपालिकाका राजु सदाको परिवारलाई रु पाँच लाख सहयोग गर्ने भएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले सदाको परिवारलाई अन्तरिम राहतस्वरुप पाँच लाख सहयोग गर्ने आज जानकारी दिए । घटनाको छानबिन गर्न गठित समितिले काम शुरु गरिसकेको र छानबिनमा दोषी देखिनेलाई कारवाही गरिने उनले बताए ।

गत जेठ ३ गते भारतको अहमदावादबाट आएका सदा गाउँकै क्वारेन्टिनमा रहेका थिए । १७ दिनसम्म क्वारेन्टिनमै बसेपछि उनलाई झाडापखाला भएपछि टिप्परमा बसाएर प्रादेशिक अस्पतालको ढोकासम्म ल्याइएको थियो । त्यही उनको स्वाब सङ्कलन गरिएको र समयमै रिपोर्ट नआएका कारण झाडापाखालाको समेत राम्रो उपचार नपाइ सोमबार मृत्यु भएको थियो ।