संयुक्त आन्दोलनका एजेन्डा पनि संयुक्त हुनुपर्छ-राजेन्द्र महतो

जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले प्रतिनिधिसभा विघटन विरुद्धको प्रचण्ड र माधव नेपालले भनिरहेको संयुक्त आन्दोलनका लागि एजेन्डा पनि संयुक्त बन्न पुर्ने बताएको छ ।
नवलपरासीको परासीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा महतोले प्रचण्ड र माधव नेपाललाई प्रधानमन्त्री बन्नका लागि संयुक्त आन्दोलन नगर्ने पनि बताए । प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमविरुद्ध सबैको एकमत रहेको पनि बताए ।
हामी सबै प्रधानमन्त्रीको कदमका विरुद्धमा छौं, महतोले भने, तर हामी सबैको आआफना एजेन्डा छन् । उनले आफूहरुले उठाउँदै आएका मुद्दा रेशम चौधरीको रिहाइ, मधेश आन्दोलनका क्रममा लगाइएको मुद्दाहरु फिर्ता, सहित संविधान संशोधनको मुद्दामा सबै सहमत भए आफूहरु संयुक्त आन्दोलनमा जाने पनि बताए ।
महतोले आफूहरुलाई नेकपा, कांग्रेस दुवैले संविधान बनाउने बेलामा धोका दिएको भन्दै आफूहरुको उक्त कुरामा नेकपाको प्रचण्ड र माधव नेपाल तथा कांग्रेस सच्चिन तयार भए संयुक्त आन्दोलन हुने पनि बताए ।
संविधानमा हुँदै नभएको कुरामा प्रधानमन्त्रीले गरेको भन्दै महतोले आफूहरु कुनै पनि सर्तमा प्रधानमन्त्रीको कदमको पक्षमा नजाने पनि बताए । बाहिर आफूहरुका बारेमा गलत अफवाह फैलाउने गरिएको भन्दै त्यसमा कुनै सत्यतामा पनि नरहेको बताए ।
महतोले प्रधानमन्त्रीलाई हामीले बेठिक भनिरहँदा हाम्रो लागि प्रचण्ड र माधवसहित कांग्रेस पनि उस्तै भएको भन्दै उनीहरु हाम्रा एजेन्डामा प्रष्ट नभएसम्म सहकार्य नहुने उनले प्रष्ट्याए । संयुक्त आन्दोलनका लागि आन्तरिक रुपमा छलफल चलिरहेको बताउँदै महतोले संयुक्त एजेन्डा नबनेसम्म त्यो कार्यान्वयन नहुने पनि दोहोर्याए ।
जसपा प्रतिनिधिसभा विघटनको मुद्दा एक रहेको भन्दै उनले कांग्रेस र नेकपाले आफूहरुविरुद्ध अफवाह फैलाएको पनि आरोप लगाए । उनले प्रतिनिधिसभा विघटन विरुद्धमा आफूहरु सबैभन्दा प्रष्ट र सशक्त रुपमा अगाडि आएका कारण अन्य दल तर्सिएको पनि दाबी गरे ।