भारतीय सहयोगमा सर्लाहीमा सडक कालोपत्रे – Madhesh Update

भारतीय सहयोगमा सर्लाहीमा सडक कालोपत्रे

   February 6, 2021  

सर्लाही जिल्ला अन्तर्गत भारतीय सिमाको लक्ष्मीपुर बलाराबाट गढैयासम्मको सडक भारत सरकारले बनाइ दिएको छ । भारत सरकारको ४ करोड ४४ लाख ८० हजार रुपैयाँ सहयोगमा निर्मित कालोपत्रे सडकको शुक्रवार उद्घाटन भएको छ । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत नितेश कुमार तथा रौतहट चन्द्रनिगाहापुरस्थित डिभिजन सडक विभाग प्रमुख विनोद कुमार मौवरले संयुक्त रुपमा सडक उद्घाटन गरेका थिए ।

भारत सरकारको ‘नेपाल भारत विकास सहकार्य’ अन्तर्गतको सहयोगबाट कालोपत्रे सडक निमार्ण भएको भारतीय राजदूतावासका प्रवक्ता नविन कुमारले जानकारी दिए । यस अन्तर्गत साढे चार किलोमिटर लामो भारतीय सिमा लक्ष्मीपुर–बलरा–मिर्जापुर र करिब डेढ किलोमिटर लामो मिर्जापुर–गडहिया सडकरहुलाकी सडक निर्माण सम्पन्न भएको हो । यो परियोजना नेपाल र भारत सरकारबीच भएको समझौता अन्तर्गत सामुदायिक विकास परियोजनाको रुपमा लिइएको थियो ।

सडक निमार्णका लागि भारतीय दुतावास,काठमाडौं र भौतिक पुर्वाधार विकास तथा यातायात मन्त्रालय अन्तर्गत जनकपुर सडक विभाग, डिभिजन सडक विभाग मुजेलिया बीच सम्झौता भएको थियो । हालमा उक्त परियोजना चन्द्रनिगाहपुर सडक विभाग अन्तर्गत रहेको छ । ‘भर्खरै कालोपत्रे गरिएको भारत नेपाल सिमा जोडने सडकले दैनिक यात्रा गर्ने यात्रुहरुको आवागमन सहज गर्ने आशा गरिएको छ’ भारतीय दूतावासले भनेको छ ।