विवाह गरी आएकाले राष्ट्रघाती सम्झौता गरेका हुन् र ? – मृगेन्द्रसिंह यादव

राष्ट्रिय जनता पार्टी नेपाल राजपाका राष्ट्रिय सभा सदस्य मृगेन्द्रसिंह यादवले अहिले वैवाहिक अंगीकृत नागरिकतामा सात वर्षे प्रावधान राख्न नहुने बताएका छन्। बिहीबार राष्ट्रिय सभामा धारणा राख्दै सांसद यादवले अहिले किन नागरिकता ऐन संशोधन गर्नु परेको भन्दै सरकारलाई प्रश्न गरे।
‘जसलाई हामी बिहे गरेर ल्याउँछौं उनीहरूले के बिगारेका छन् ?,’ उनले प्रश्न गरे, ‘किन ल्याउनुपर्यो यस्तो संशोधन अहिले ?, कोशी, गण्डकी, महाकाली, पञ्चेश्वर तिनीहरूले नै बेचेका हुन् र ? तिनीहरूले राष्ट्रघाती सम्झौता गरेका हुन् ?’
सरकारले आफूहरूको भावनामाथि चोट पुर्याएको उनले बताए । सरकारले के गर्यो गर्यो। हाम्रो भावनामाथि नै चोट पुर्यायो,’ उनले थपे, ‘बाहिर र भित्र घाउमा नुनचुक दल्ने काम भइरहेको छ।’
वैवाहिक अंगीकृत नागरिकतामा सात वर्षे प्रावधान राख्ने र विवाह गरी आउने महिलालाई वैकल्पिक कागजात दिन सकिने बहसलाई उनले त्यो संविधानले परिकल्पना गरेविपरीत हुने बताए।
‘संविधानले परिकल्पना नै नगरेको अस्थायी कार्ड कसरी दिने ? कसैले रिट हालिदियो भने त्यो खारेज हुन्छ,’ उनले भने, ‘सरकार र सत्तापक्षले यसबारेमा पुनर्विचार गरोस्।’