छोरीलाई बलात्कार गर्ने बुवा जनकपुरबाट पक्राउ – Madhesh Update

छोरीलाई बलात्कार गर्ने बुवा जनकपुरबाट पक्राउ

   January 28, 2021  

धनुषा प्रहरीले काठमाडौंमा आफ्नै छोरीलाई कुटपिट गर्दै बलात्कार गरेको आरोपमा जनकपुरबाट एकजनालाई पक्राउ गरेको छ । गत माघ १३ गते आफ्नै छोरीलाई काठमाडौंमा बलात्कार गरेको आरोपमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जम्बुडाँडा बस्ने एक व्यक्तिलाई बिहीबार बिहान ११ बजेको समयमा जनकपुरको रमानन्द चोकबाट पक्राउ गरेको हो ।

धनुषाको कमला नगरपालिका ५ स्थायी घर भएका उनले छोरीलाई कुटपिट गर्दै बलात्कार गरेर फरार भएको भन्दै बालिकाकी आमाले महानगरीय प्रहरी वृत्त बौद्धमा निवेदन दिएकी थिइन् ।

वृत्तले उनलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय धनुषालाई पत्राचार गरेको आधारमा खोजतलास गरिएको थियो । खोजतलास गर्ने क्रममा उनलाई पक्राउ गरी प्रहरी वृत्त काठमाडौं पठाइएको धनुषा प्रहरी प्रबक्ता तथा प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

पक्राउ परेका ती व्यक्तिलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त बौद्धमा पठाइएको प्रहरीले जनाएको छ ।