सर्वोच्चको फैसला मान्य हुन्छ – राजेन्द्र महतो – Madhesh Update

सर्वोच्चको फैसला मान्य हुन्छ – राजेन्द्र महतो

   January 22, 2021  

जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले प्रतिनिधिसभा विघटनको सन्दर्भमा सर्वोच्च अदालतले गर्ने फैसला आफूहरुलाई मान्य हुने बताएका छन् ।

सप्तरीको राजविराजमा शुक्रवार प्रेस मञ्च नेपाल र प्रेस नेपालले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महतोले लोकतन्त्रमा निर्वाचनबाट भाग्न नमिल्ने तर्क गरे ।

लोकतान्त्रिक शक्तिका नाताले आफूहरु अदालतको निर्णय मान्ने र निर्वाचनमा भाग लिने महतोको भनाइ थियो ।

जनता समाजवादी पार्टी पनि प्रतिनिधिसभा विघटनको विरोधमा उत्रिएको छ । संसद पुनःस्थापना र निर्वाचन दुवैले मुलुकमा स्थायित्व दिन नसक्ने दावी महतोले गरे । उनले सर्वस्वीकार्य संविधान बनाएर पूर्ण समावेशी अभ्यासमा मुलुकलाई अघि नबढाएसम्म स्थायित्व हुन छाँटकाँट आफूले नदेखेको उनको भनाइ थियो ।

प्रधानमन्त्री केपी ओली प्रतिगमनको कित्ताको नेता भएको जिकिर गर्दै उनले अव उनको अन्त्य हुने ठोकुवा गरे । पछिल्लो समयमा समाजिक सन्जालहरुमा महतोसहित जसपाका केही नेता प्रम ओलीसँग मिलेको खवर बाहिरिएकोप्रति लक्षित गर्दै उनले ओली र उनको समूह आफनो नाम बेचेर आत्मसन्तुष्टिमा रमाउन खोजेको भन्दै त्यसप्रति कुनै टिप्पणी नगर्ने पनि बताए ।