११ गते पछि जसपाले थप विरोध कार्यक्रम ल्याउने – Madhesh Update

११ गते पछि जसपाले थप विरोध कार्यक्रम ल्याउने

   January 21, 2021  

बुधबार ७७ वटै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गरेपछि जसपाको दोस्रो चरणको विरोध कार्यक्रम सकिएको छ। ५ पुसमा प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्टपतिले प्रतिनिधिसभा भंग गरेर निर्वाचन घोषणा गरेपछि जसपाले तत्काल विरोध गरेको थियो।

त्यही दिन जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले विज्ञप्ति निकालेर संसद भंगलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै विरोध जनाएका थिए। जसपाले विज्ञप्ति निकालेर विरोध मात्रै गरेन त्यही दिन साँझ औपचारिक घोषणा नगरी विरोधमा पनि उत्रियो। प्रदेश २ को सबैजसो सहरमा जसपासम्वद्ध युवाहरुले प्रदर्शन गरे।

त्यसपछि ६ पुसमा शीर्ष नेताहरुले बैठक गरेर ८ गतेका लागि देशव्यापी विरोध प्रदर्शन गर्ने निर्णय गरे। त्यसपछि १२ गतेसम्मका लागि पहिलो चरणका विरोध कार्यक्रम गर्दै जसपा औपचारिक रुपमा सडकमा ओर्लियो।

१२ गतेको विरोध कार्यक्रम सकिए लगत्तै पुन १३ गते जसपाका अध्यक्षद्वय ठाकुर र यादवले पुर्व देखि पश्चिम सम्मको १५ प्रमुख शहरहरुमा आमसभासहितका दोस्रो चरणको कार्यक्रम घोषणा गरे। ७ माघसम्मका लागि विभिन्न कार्यक्रम घोषणा गरेको जसपाले काठमाडौँमा सबै दलसहित नागरिक समाजसँग पनि सबैभन्दा पहिले अन्तक्रिया गर्यो।

यसरी ७ माघ सम्मको २ चरणको विरोध कार्यक्रम गरेको जसपाले अब के गर्छ त रु नेताहरु भने फेरि शीर्ष नेताहरुको बैठकले नै त्यसबारे ठोस जवाफ दिने बताउँछन्। ७ माघको विरोध कार्यक्रमका लागि काठमाडौ बाहिर गएका शीर्ष नेताहरु ११ गतेसम्म मात्रै काठमाडौँ फर्कने कार्यतालिका रहेको जसपा पार्टी कार्यलयले जनाएको छ।

जसपा केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले अब शीर्ष नेताहरु काठमाडौ फर्केपछि थप कार्यक्रमबारे निर्णय हुने बताए। अहिले जसपाका अध्यक्ष महन्थ ठाकुरबाहेक सबै शीर्ष नेताहरु उपत्यका बाहिर छन्।