काठमाडौ सहित मधेशमा मनाइयो वलिदानी दिवस – Madhesh Update

काठमाडौ सहित मधेशमा मनाइयो वलिदानी दिवस

   January 18, 2021  

मधेस आन्दोलनको सम्झनामा सोमबार काठमाडौंसहित तराई–मधेसका जिल्लामा विभिन्न कार्यक्रम गरिएको छ । काठमाडौंमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरको उपस्थितिमा मधेसी नेताले आन्दोलनको सम्झनामा सहिदहरुको तस्बिरमा माल्यार्पण कार्यक्रम राखेका थिए ।

यसैगरी, प्रदेश दुईको सरकारले जनकपुरमा औपचारिक रुपमै बलिदानी दिवसको उपलक्ष्यमा कार्यक्रम गरेका थिए । जसपाका वरिष्ठ नेता राजेन्द्र महतोको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतसहित प्रदेश सरकारका अन्य मन्त्रीहरु सहभागी थिए । प्रदेश दुईको सरकारले बलिदानी दिवसको अवसरमा आज प्रदेशमा सार्वजनिक बिदा पनि दिएको छ ।

यसैगरी, सिके राउत नेतृत्वको जनमत पार्टीले सिरहाको लहानमा आफ्नो पार्टीको आयोजनमा छुट्टै बलिदानी दिवस मनाएको छ । तत्कालीन संसदले अन्तरिम संविधान जारी गर्दा संघीयता नसमेटिएको भन्दै मधेसमा आन्दोलन भएको थियो । तत्कालीन मधेसी जनअधिकार फोरम नामक गैरसरकारी संस्थाले नेतृत्व गरेको आन्दोलनपछि मधेसभर फैलिएको थियो ।

सोमबार बबरमहलमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै जसपा नेपालका अध्यक्ष ठाकुरले मधेस आन्दोलनमा सहिद भएकाहरुको सपना पूरा नभएको भन्दै त्यसमा सबैलाई इमानदार हुन आग्रह गरे । ठाकुरले मधेसमा भएको आन्दोलन अझै अपूर्ण रहेको भन्दै त्यसलाई पूरा गर्न आफूहरु लागिपरेको बताए । काठमाडौ र यहाँका प्रमुख दलले मधेस आन्दोलनलाई पन्छाएर अघि बढ्न खोजेको भन्दै ठाकुरले त्यसप्रति आफूहरु चनाखो भएको जिकिर गरे ।

जनकपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जसपा वरिष्ठ नेता महतोले मधेस आन्दोलन संघीयताको जननी भएको भन्दै सहिदको बलिदानी खेर जान नदिने बताए । महतोले मधेस आन्दोलनका सहिदहरुको सपनालाई कुल्चेर वर्तमान संविधान बनाइएको प्रसंग उल्लेख गर्दै संविधानमा आफूहरुको माग सम्बोधन नगरिएसम्म आफूहरुले संविधान पूर्ण रुपमा स्वीकार नगर्ने पनि बताए । लोकतन्त्रमै मधेस अधिकारको सुनिश्चितता हुने भन्दै उनले वर्तमान प्रधानमन्त्री केपी ओलीले लोकतन्त्र नै समाप्त पार्न खोजेका कारण आफूहरु आन्दोलनमा होमिएको बताए ।