भारतमा कोरानाको खोप सुरु, नेपाललाई पनि दिने प्रतिवद्धता
शनिबारदेखि भारतमा कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप कार्यक्रम सुरु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोराना विरुद्धको खोप अचियानको उदघाटन गरेका थिए । खोप अभियान सुरु भए पछि भारत सरकारले निर्धारण गरेको मापदण्डअनुसार सबैभन्दा पहिला स्वास्थ्यकर्मीहरु अर्थात् डाक्टर, नर्स तथा स्वास्थ्यसँग जोडिएका मानिसहरुले कोरोना खोप पाउनेछन् । सबै सरकारी र निजी अस्पतालका स्वास्थ्यकर्मीहरुको संख्या ८० लाखदेखि एक करोडसम्म रहेको बताइएको छ । त्यसपछि करिब दुई करोड फ्रन्टलाइन वर्कर्स अर्थात् प्रहरी, सेना, स्यानिटाइजेसन कर्मचारीहरुलाई कोरोना खोप दिइनेछ ।
त्यसपछिको प्राथमिकतामा ५० वर्षभन्दा माथि उमेरका र गम्भीर रोगको सामना गरिरहेका सो उमेर समूहभन्दा कम उमेरका मानिसहरुलाई पनि कोरोना खोप दिइनेछ । भारतमा यो संख्या २७ करोड छ । सबैभन्दा पहिला जुन क्षेत्रमा कोरोना संक्रमण धेरै छ, सोही क्षेत्रका मानिसहरुलाई बढी प्राथमिकता दिइनेछ । त्यसपछि बाँकी जनसंख्याको पालो आउनेछ ।
नेपाललाई दिने प्रतिवद्धता
भारतले नेपाललाई कोभिड–१९ विरुद्धको भ्याक्सिन प्राथमिकताका साथ उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।
नेपालका परराष्टमन्त्री प्रदीप ज्ञवालीको भारत भ्रमणको क्रममा शुक्रबार नयाँ दिल्लीमा भएको नेपाल–भारत संयुक्त आयोगको बैठकका क्रममा भा।रतले सो प्रतिबद्धता व्यक्तगरेको छ ।
तीन–दिने भ्रमणका लागि बिहीबार नयाँ दिल्ली पुगेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उनका भारतीय समकक्षी एस जयशंकरको नेतृत्वमा भएको सो बैठकमा भारतले उक्त प्रतिबद्धता जनाएको हो ।
‘अत्यावश्यक कोभिड–१९ भ्याक्सिन उपलब्ध गराउन नेपालले भारत सरकारसँग गरेको अनुरोधमा भारतीय पक्षले भ्याक्सिन तयार भएपछि नेपालको आवश्यकताअनुसार नेपाललाई प्राथमिकतामा राखिने प्रतिबद्धता व्यक्त गरेको छ,’ द्विपक्षीय बैठकपछि नयाँ दिल्लीस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ।