मधेश आन्दोलनका शहीद रमेश महतोको परिवारलाई प्रदेश दुई सरकारको जागिर – Madhesh Update

मधेश आन्दोलनका शहीद रमेश महतोको परिवारलाई प्रदेश दुई सरकारको जागिर

   December 26, 2020  

मधेश आन्दोलनका प्रथम शहीद रमेश महतोको परिवारका एक सदस्यलाई प्रदेश दुईका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा करारमा नियुक्ती गरिएको छ ।

शहीद परिवार एक रोजगार कार्यक्रम अन्तर्गत प्रथम शहीद महतो परिवारका सदस्य अनिता कुमारी महतोलाई कम्प्युटर अपरेटर पदमा नियुक्त गरिएको हो । मुख्यमन्त्री लालबाबु राउतले शुक्रबार अनितालाई नियुक्ती पत्र हस्तान्तरण गरेका हुन् । मुख्यमन्त्री स्वच्छता अभियान कार्यक्रम अन्तर्गत उनलाई करारमा नियुक्त गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

पुस १ गतेदेखि लागू हुने गरी अनितालाई कम्प्युटर अपरेटर पदमा नियुक्त गरिएको हो । लालबाबु राउत नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् को बैठकले शहीद परिवार, एक रोजगार दिने निर्णय गरेको थियो । सोही अन्तर्गत प्रदेश २ का आठै जिल्लाका शहीद परिवारका एक सदस्यलाई रोजगार दिएको छ । रोजगारका लागि सिफारिस भएका शहीद परिवारको व्यवस्थापनमा प्रदेश सरकार लागिपरेको छ ।