संसद विघटनको विरोधमा प्रदेश दुईको आठ ओटै जिल्लामा विरोध प्रर्दशन

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेको विरोधमा जनकपुरसहित प्रदेश २ का आठवटै जिल्लामा जसपासहित कांग्रेस र नेकपाकै सहभागीतामा विरोध प्रर्दशन प्रदर्शन भएका छन् ।
प्रधानमन्त्री ओलीले संविधान विरोधी, अलोकतान्त्रिक र तानाशाही निर्णय गरेको भन्दै नेकपासँगै कांग्रेस तथा जनता समाजवादी पार्टीका नेताकार्यकर्ताले प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीविरुद्ध प्रदर्शन गरेका हुन् ।
जनकपुरमा प्रदर्शनमा सहभागी नेताकार्यकर्ताले सरकारविरुद्ध मोटरसाइकल र्यालीसँगै नाराबाजी गरेका थिए । उनीहरूले ‘तानाशाही बन्द गर’, ‘संसद् विघटनको निर्णय फिर्ता लेउ, लगायत लेखिएका ब्यानर र प्लेकार्ड लिएर नाराबाजी गरेका थिए । र्यालीपछि जनक चोकमा आयोजित कोणसभामा बोल्दै युवासंघका नेता कार्यकर्ताले जनादेशलाई लत्यउँदै संसद विघटन गर्ने नेकपाका अध्यक्ष ओलीलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निस्काशन गर्न माग गरेका छन् ।
सप्तरीको राजविराजमा प्रधानमन्त्रीको निरंकुश कदम भन्दै नेकपाकै कार्यकर्ताले पुत्लासमेत जलाएका छन् । यस्तै, सिरहा, जनकपुर, बर्दिबास, मंलगवा, कलैया, वीरगञ्जमा समेत नेकपासँगै उसका जनवर्गीय संगठन, जसपा र कांग्रेसका स्थानीय नेताकार्यकर्ताले समेत विरोध प्रदर्शन गरेका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी हुन् ।