रेशमलाई अपराधी मान्ने हो भने केपी–प्रचण्डलाई पनि जेल हाल्नुपर्छ-राजेन्द्र महतो – Madhesh Update

रेशमलाई अपराधी मान्ने हो भने केपी–प्रचण्डलाई पनि जेल हाल्नुपर्छ-राजेन्द्र महतो

   December 18, 2020  

जनता समाजवादी पार्टीका वरिष्ट नेता राजेन्द्र महतोले कैलालीको टीकापुर घटनामा रेशमलाल चौधरीलाई अपराधी माने प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि जेल हाल्नुपर्ने बताएका छन् ।

नेता महतोले प्रतिनिधिसभा सदस्य चौधरीलाई टीकापुर घटनामा दोषी ठहर गरिए झापा विद्रोहमा संलग्न प्रधानमन्त्री ओली र १७ हजार जनाको ज्यान जाने गरि भएको सशस्त्र द्वन्द्वको नेतृत्व गरेको पूर्वप्रधनमन्त्री प्रचण्डलाई पनि जेल हाल्नुपर्ने बताएका हुन् ।

“झापा विद्रोहमा त्यति मान्छेको टाउको काटेका केपी ओली प्रधानमन्त्री बन्ने र जनयुद्धमा १७ हजारको ज्यान लिएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश चलाउने ?,” उनले भने, “अनि टीकापुर घटनाका रेशम चौधरीलाई जेल हाल्ने ? यो कस्तो कानुन हो ? यो कस्तो न्याय हो ? रेशमलाई जेल हाल्ने कानुनले केपी–प्रचण्डलाई पनि जेल हाल्नुपर्छ ।”

टीकापुर घटनाका मुख्य योजनाकार भनिएका चौधरीले सफाइको माग गर्दै उच्च अदालत दिपालयमा पुनरावेदन गरेको मुद्दाको सुनुवाई गर्दै बिहीबार जन्मकैद गर्ने जिल्ला अदालत कैलालीको फैसला सदर गरिदिएको छ । उक्त फैसाला सदर भएपछि जसपाका नेता महतोले चौधरीलाई अपराधी मान्ने हो भने केपी–प्रचण्डलाई पनि जेल हाल्नुपर्ने बताएका हुन् ।

उनले चौधरीलगायत टीकापुर घटनामा दोषी ठहर भएका व्यक्तिहरुको रिहाइको माग गर्दै एक–दुई दिनभित्रै जसपाले देशव्यापी आन्दोलनको घोषणा गर्नेसमेत बताए । नेता महतोले भने, “हामीले रेशमलाई भएको अन्यायविरुद्ध आज–भोलिनै देशव्यापी आन्दोलनको घोषणा गर्दैछौं ।”

टीकापुरका जनता माथि समेत सरकारले विश्वासघात गरेको उनको तर्क छ । “जनताले मत दिएर जितेको व्यक्तिलाई जेलमा राख्ने कस्तो कानुन हो ?,” महतोले भने ।