नेपाल–भारत सीमा खुलाउन माग गर्दै सांसद नै धर्नामा – Madhesh Update

नेपाल–भारत सीमा खुलाउन माग गर्दै सांसद नै धर्नामा

   December 18, 2020  

नेपाल–भारत सीमा खोल्न र हुलाकी सडक मर्मत गर्न माग गर्दै सर्लाही सदरमुकाम मलंगवामा शुक्रबार १३औँ दिन पनि धर्ना जारी छ ।

सीमा बन्द र हुलाकी सडकको बेहालले गर्दा जनजीवन कष्टकर बनेको भन्दै जिल्ला समन्वय समितिका संयोजक मेथुर चौधरीको नेतृत्वमा गठन भएको संघर्ष समितिले संघीय सरकारको ध्यानाकर्षण गराउन आन्दोलन थालेको हो । उक्त आन्दोलनमा संघीय सांसद, प्रदेश सांसद, स्थानीय सरकारका प्रमुखहरु नै सभागी हुँदै आएका छन् ।

शुक्रबारको धर्ना प्रदेश सांसद उपेन्द्र महतोको नेतृत्वमा भएको थियो । धर्नामा बसेका महताले जनताको कष्टलाई टुलुटुलु हेरेर बस्न नसक्ने अवस्था आएको बताए । ‘संघीय सरकारले मधेसका जनताले दुःख पाउँदा वास्ता नगर्ने पुरानै शैली देखाएको छ,’ उनले भने, ‘सरकारलाई घचघच्याउनका लागि यो आन्दोलन गर्नु परेको हो । यसमा एक्यबद्धता जनाउँदै म पनि आन्दोलनमा सहभागी भएको छु ।’

यस अघि जसपाका शिर्ष नेता तथा प्रतिनिधीसभा सासंद महेन्द्र यादव पनि धर्नामा सहभागी हुदै मलंगवामा निकालिएको जुलुसमा सहभागी भएका थिए । यादव नेतृत्वको जुलुसले सिमा नाकामा राखिएको बासको ढाट पनि उखालेर फालिदिएका थिए ।

संघर्ष समितिका संयोजक मेथुर चौधरीले जनतालाई कष्ट पर्दा जनप्रतिनिधिको हैसियतले केन्द्रसम्म आवाज पुर्याउन आन्दोलन गर्नुपर्ने बाध्यात्मक अवस्था आएको स्पष्ट पारे । ‘सरकारले आन्दोलन नगरेसम्म सुनवाइ गर्दैन,’ उनले भने, ‘हामीले यो समस्या समाधान गर्न धेरै पटक सम्बन्धीत निकायसम्म कुरा पुर्यायौँ । तर, यसमा कसैले पनि चासो नदिएपछि आन्दोलन गर्नुपर्ने अवस्था आयो ।

तराई मधेशका पुर्व देखि पश्चिम सम्मका जिल्लहरुमा नेपाल भारत सिमा नाका खोल्नु पर्ने माग गर्दै विरोध र धर्ना कार्यक्रमहरु पछिल्लो एक महिना यता चलीरहेको छ ।