उखु किसानहरु पुन काठमाडौ आएर आन्दोलित – Madhesh Update

उखु किसानहरु पुन काठमाडौ आएर आन्दोलित

   December 13, 2020  

सरकारले एक वर्षअघि गरेको भुक्तानीसम्बन्धी सम्झौता कार्यान्वयन नगरेको भन्दै उखु किसान आन्दोलनमा उत्रिएका छन् । तराईका केही जिल्लाका उखु किसानले पाँच वर्षदेखि चिनी मिलहरूले उखु खरिद गरेर भुक्तानी नगरेको भन्दै काठमाडौ आएर आन्दोलनमा सुरु गरेका छन् ।

गत वर्षको १६ पुसमा भएको सम्झौताअनुसार चिनी मिल सञ्चालकबाट सरकारले बक्यौता रकम नउठाइदिएको भन्दै उखु किसानले आन्दोलनमा उत्रिएका हुन् ।

गत वर्षको पुसमा काठमाडौंमा आन्दोलन गरेका सर्लाही र नवलपरासीका किसान फेरि एक वर्षपछि आन्दोलन गर्न काठमाडौंमा छन् । सरकारले उखु किसानको भुक्तानी गर्न गत वर्ष सम्झौता गरे पनि चिनी मिलहरूलाई ताकेता नगरेको संघर्ष समितिका अध्यक्ष तथा जनता समाजवादी पार्टीका नेता राकेश मिश्रले बताए ।

सरकारले कृषकका समस्यालाई उधारोमा सम्झौता गरेर गत वर्ष झुकायो । मिल सञ्चालकले उखु किसानलाई पैसा भुक्तानी गर्न नमाने पनि सरकारले चासो नदेखाएको समितिका अध्यक्ष मिश्रको आरोप छ ।

‘गत वर्ष १८ माघभित्र सबै उखु किसानलाई बाँकी रकम भुक्तानी गर्ने विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र आन्दोलनरत किसानबीच सम्झौता भएको थियो । तर, सम्झौता भएको एक वर्षसम्म भुक्तानी नपाएपछि आन्दोलनमा उत्रिन बाध्य भएका हौँ,’ उनले भने, ‘सरकारले हरेक पटक उखु किसानसँग झुटो सम्झौता गरेर माग सम्बोधन गर्ने सम्झौता गर्ने, कार्यदल वा समिति बनाउने र प्रतिवेदन तयार पार्ने गरेका छन् । तर, उखु कृषकको समस्या जस्ताको तस्तै छ ।’

नेपालमा वर्षौँदेखि उखु कृषकहरूले चिनी उद्योगीले समयमा रकम भुक्तानी नगरेको गुनासो गर्दै आन्दोल गर्दै आएका छन् । तर, सरकारले सम्झौता मन्त्रालयका दराजमा थन्क्याएर मिलवालालाई आश्रय दिइरहेको उनको आरोप छ ।

वर्षौँदेखि चिनी उद्योगहरूले भुक्तानी गर्न बाँकी रहेको रकम माग गर्दै उखु किसान आन्दोलनमा छन् । उनीहरूले बक्यौता भुक्तानी मात्र नभएर उखुखेतीसँग सम्बन्धित समस्या समेत समाधान गर्न राज्यलाई घचघच्याइरहेका छन् ।

काठमाडौं केन्द्रित आन्दोलनको कार्यक्रमअन्तर्गत माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना दिने, नागरिक समाज, सञ्चारकर्मी र मानवअधिकारकर्मीलाई भुक्तानीका लागि दबाब दिन किसानहरूले आग्रह गरेका छन् । उखु कृषकको आन्दोलनमा नेपाल उखु उत्पादक महासंघसहित अन्य संस्थाहरूको पनि ऐक्यवद्धता जनाएका छन् ।