रेल्वे कम्पनीले स्थायी कर्मचारी नै भर्ना गर्ने तयारीमा – Madhesh Update

रेल्वे कम्पनीले स्थायी कर्मचारी नै भर्ना गर्ने तयारीमा

   October 10, 2020  

मौखिक परीक्षा मार्फत मात्रै जनकपुर–जयनगर रेल सञ्चालनका लागि आवश्यक जनशक्तिलाई करारमा नियुक्त गर्ने विषयमा आचोलना भएपछि नेपाल रेल्वे कम्पनी यो निर्णयबाट पछि हट्ने भएको छ । मौखिक परीक्षाबाट करारमा कर्मचारी छनोट भएपछि सत्तापक्षको हालीमुहाली बढ्न सक्ने भन्दै आलोचना हुँदै आएको थियो ।

नेपाल रेल्वे कम्पनीले स्टेशन मास्टर, टिटि, क्यासियर, गार्ड, प्रशासन, लेखा लगायतका विभिन्न २९ वटा पदका लागि एक सय २९ जनाको लागि करारमा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको थियो । कम्पनीका अनुसार दरखास्तको दिन तोकिएको अन्तिम मिति १२ असोज सम्ममा विभिन्न पदका ३२ हजार ६ सय ८६ जनाले जागिरका लागि अनलाइन मार्फत आवेदन दिएका थिए ।

रेल कहिलेदेखि सञ्चालन हुने अन्यौलताकै बीच कम्पनीले हतार हतारमा गरेको कर्मचारी भर्नाको प्रक्रिया र छनोट प्रक्रियामा चौतर्फी आलोचना भएपछि कम्पनीको सञ्चालक समितिमा अब लोकसेवा आयोगकै परामर्शमा कर्मचारी गर्ने विषयमा छलफल सुरु भएको छ ।

छिट्टै रेल सञ्चालन होस् भन्ने उदेश्यले ६ महिनाको करारमै कर्मचारी भर्ना गर्ने प्रक्रिया थालियो, नेपाल कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले भने,‘ तर रेल सञ्चालनको मिति अझै तोकिन सक्ने अवस्था नरहेको, करार अवधि समाप्त भएपछि पुनः कर्मचारीलाई भर्ना गर्नुपर्ने झन्झिटिलोे हुने तथा करार समाप्त भएर पनि जागिर छोड्न नचाहने र हटाएको खण्डमा आन्दोलन गर्ने प्रवृति विगतमा देखिएकाले पनि अब एकैपटक स्थायी कर्मचारी नै भर्ना गर्नुपर्ने समेत छलफल भइरहेको छ ।’

स्थायी कर्मचारी भर्नाका विषयमा लोक सेवा आयोगसँग समेत छलफल भइरहेको उल्लेख गर्दै उनले भने, ‘स्थायी कर्मचारी प्रक्रिया सुरु भएको खण्डमा अहिले जागिरका लागि आवेदन दिएकासँग पनि लिखित, मौखिक परीक्षा हुन्छ र लिखित र मौखिक परीक्षाबाटै कर्मचारी छनोट पनि हुन्छ ।’ अहिले आवेदन दिएकाहरुको कागजातहरुको परीक्षणको कार्य भइरहेको महाप्रबन्धक भट्टराईले बताए ।

‘नेपालको कानुन अनुसार कुन क्षेत्रका, कुन प्रदेशका व्यक्तिलाई प्राथमिकता दिने विषय तोकिएको छैन, त्यसकारण रेल्वेमा पनि त्यस्तो हुँदैन पनि महाप्रबन्धक भट्टराईले भने, ‘तर, अहिले दिएको आवेदनमा झण्डै ७० प्रतिशत व्यक्तिले प्रदेश २ बाटै बढी आएको छ, आवेदन जहाँबाट बढी आउँछ स्वभाविक रुपमा त्यहाँका व्यक्तिले बढी जागिर पाउछन् ।’

नेपाल रेल्व कम्पनीले रेल सञ्चालनका लागि चालकसहितका प्राविधिक कर्मचारी भारतबाट ल्याउने बताए पनि भारतसँग यस विषयमा अझैसम्म कुनै टुंगो लाग्न सकेको छैन ।

महाप्रबन्धक भट्टराईका अनुसार प्राविधिक कर्मचारीका लागि भारतसँग पहिलो र दोस्रो चरणमा कुराकानी भइसकेको छ, अब तेस्रो चरणमा यी विषय टुंगो लाग्छ । भारतीय प्राविधिक कर्मचारीको सेवा सुविधा, शर्त लगातयका विषय सम्झदारी पत्र भारतले नै तयार गरिरहेको छ, महाप्रवन्धक भट्टराईले भने, ‘तर अहिलेसम्म भारतीय पक्षले कुनै प्रस्ताव पेश नगरेकोले त्यसमा थप छलफल हुन सकेको छैन ।’