सर्लाही र रौतहटमा डिजे प्रयोगमा प्रतिबन्ध – Madhesh Update

सर्लाही र रौतहटमा डिजे प्रयोगमा प्रतिबन्ध

   October 9, 2020  

डिजे साउण्ड सिस्टम प्रयोगमा प्रतिबन्ध लगाइएको जिल्ला प्रशासन कार्यलय सर्लाहीर रौतहटले जनाएको छ । जिल्लाभित्र हुने धार्मिक, सामाजिक, राजनीतिकलगायतका कार्यक्रममा प्रयोग गरिने डिजे साउण्ड सिस्टमले चर्को ध्वनि प्रबाह हुनाका साथै ध्वनि प्रदूषण, स्वास्थ्य समस्या, शान्ति सुरक्षामा असर र सामाजिक सद्वाभावमा समेत असर पारेको भन्दै जिल्ला प्रहरी कार्यालय र जिप्रकाले आफ्नो क्षेत्रभित्र सो सिस्टम प्रयोगमा प्रतिबन्ध लगाएको हो ।

जिल्ला सुरक्षा समिति, जिल्लास्तरीय सर्वदलीय र सर्वपक्षीय बैठक तथा स्थानीय तहका प्रमुखहरुको संयुक्त बैठकले जिल्लाभित्र डिजे साउण्ड प्रयोगमा प्रतिबन्ध लगाउन सिफारिस गरेको सर्लाही प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताए ।

यस्ता साउण्ड सिस्टमले दुर्घटनासमेत बढाउने भएकाले जिल्लाका कुनै पनि स्थानमा यस्तो स्पिकर राख्न नदिन स्थानीय प्रशासन ऐन २०२८ बमोजिम आदेश जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । ठूलो स्वारमा डिजे साउण्ड सिस्टम बजाउने र अस्लील खालमा गीत संगीत बजाउने गर्दा समाजमा विकृति फैलदै गएकाले बाध्य भएर यस्तो निर्णय गरिएको जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरीले बताए । उक्त आदेशको बर्खिलाप गरेको पाइएमा सो सिस्टम जफत गर्नाका साथै प्रचलित कानून बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

रौतहटमा पनि प्रतिबन्ध

डिजे बाजामाथि रौतहटस्थित स्थानीय प्रशासनले प्रतिबन्ध लगाएको छ । जिल्लाको विभिन्न भागमा हुुने धार्मिक, सामाजिक, राजनीतिक लगायतको कार्यक्रममा डिजे साउण्ड सिस्टम प्रयोग नगर्न जिल्ला प्रशासन कार्यालय रौतहटले उर्दी जारी गरेको छ ।

डिजे बाजाबाट ध्वनी प्रदूषण, स्वास्थ्य समस्या, शान्ति सुरक्षा र समाजिक सद्भावमा प्रतिकुल प्रभाव पर्ने तथा विभिन्न दुर्घटना समेत रहेको तथ्यलाई मध्य नजर गर्दै जिला सुरक्षा समिति, जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बिहिवार बसेको संयुक्त बैठकले जिल्ला भित्र डिजे साउण्ड सिस्टम प्रतिबन्ध लगाउन सिफारिस गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले समुदायमा बाधा, अवरोध र जनस्वास्थ्यमा खराब असर परिरहेकाले अर्को सूचना जारी नभएसम्म जिल्लाको कुनै पनि स्थानमा डिजे साउण्ड सिस्टम, स्पीकर नराख्ने सुचना स्थानीय प्रशासन ऐन २०२८ बमोजिम आदेश जारी गरेको छ । जिल्ला प्रशासनको निर्णय बेवास्ता गरेमा साउण्ड सिस्टम जफत गरीे प्रचलित कानुन बमोजिम कारवाही गर्ने सूचनामा उल्लेख रहेको छ ।