प्रेम सम्बन्धको विषयलाई लिएर रौतहटमा किशोरीको हत्या

रौतहटको दुर्गाभगवती गाउँपालिका–४ छतौनाटोल बस्ने १७ वर्षीया रोबिना मन्सुरीको हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँका ३३ वर्षीय फुल महम्मद रहेका छन् ।
सोही ठाउँ बस्ने १९ वर्षीय युवकसँग रोबिनाको प्रेम सम्बन्धको विषयलाई लिएर महम्मदसमेत ४ जनाले रोबिनाको हत्या गरी सोही ठाउँ बस्ने जनरल कवाडीको घरमा शव फालेका थिए ।
शव फालेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय गंगापिपराबाट खटिएको प्रहरीले महम्मदलाई बुधबार राति पक्राउ गरेको हो ।
साथै उक्त घटनामा संलग्न रही फरार रहेका सोही ठाउँ बस्ने ४३ वर्षीय लाल महम्मद, ५० वर्षीय नसरुदिन मन्सुरी र उनकै श्रीमती ४३ वर्षीया सहनाज मन्सुरी हाल फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।