सरिता गिरीले पम्फा भुसाललाई भनिन् -तपाईंहरूले घात गर्नुभयो

नागरिकता विधेयकसम्बन्धी विवादमा जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले नेकपा सांसद पम्फा भुसालमाथि घात गरेको आरोप लगाएकी छिन् । सामाजिक सञ्जालमा भुसाललाई सम्बोधन गरेर उनले लेखेको स्टाटसमा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनु गल्ती भएको बताएकी छिन् ।
गिरीले लेखेकी छिन्, ‘दिल्लीको १२बुँदे सम्झौता त पछि भयो । जब तत्कालीन राजा, कांग्रेस, एमाले बन्दुकबाट माओवादीको अन्त्यका लागि एक थिए, त्यसवेला तत्कालीन सदभावना पार्टीले सबैभन्दा पहिला माओवादीलाई शान्ति वार्तामा ल्याउन माग र अडान राखेको थियो र पछि पाँच आन्दोलनरत दलमा संघर्ष गर्दा तपाईंहरू शान्ति प्रक्रिया र संसदमा आउनुभयो । त्यो हाम्रो सबैभन्दा ठूलो भूल थियो । आज मधेस पश्चाताप गर्दै छ, तर संघर्षमा पनि छ । श्रीलंकामा बन्दुकधारीहरूको अन्त्य कसरी भएका छ, त्यो पनि माओवादीलाई जानकारी पक्कै होला । हामीले सहयोग गऱ्यौँ, दिल्लीले सहयोग गऱ्यो, तर तपाईंहरूले घात गर्नुभएको छ ।’
आइतबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा विवाह गरेर आउने विदेशी महिलाले सात वर्षपछि अंगीकृत नागरिकता पाउने व्यवस्थासहित विधेयक बहुमतले पारित भएपछि गिरीको यस्तो भनाइ आएको हो ।
समितिको छलफलमा सांसद भुसालले सात वर्षपछि अंगीकृत नागरिकता पाउने व्यवस्थाको पक्षमा बोलेकी थिइन् ।
गिरी यसअघि नेपाली भूमि समेटिएको नक्सा सरकारले जारी गरेपछि खुलेरै त्यसको विरोधमा उत्रिएकी थिइन् ।