पर्सामा आठ केजी अफिमसहित युवक पक्राउ – Madhesh Update

पर्सामा आठ केजी अफिमसहित युवक पक्राउ

   October 7, 2020  

पर्सामा प्रहरीले ठुलो परिमाणमा लागु औषध अफिमसहित एक जनालाई पक्राउ गरेको छ। पर्साको कालीकामाई गाँउपालिका वडा नम्बर १ तीनडोयिबा गाँउका २९ वर्षीय खोवारीप्रसाद कुर्मी ८ केजी अफिमसहित पक्राउ परेका हुन्।

विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरी टोलीले मङ्गलबार मध्यरातमा कुर्मीको घरमा छापा मारेर अफिमसहित उनलाई पक्राउ गरेको हो।

कुर्मीको घरमा छापा मारेर खानतलाशी गर्दा घरभित्र लुकाइ राखेको आठ वटा पोकामा रहेको ८ केजी अफिम बरामद भएको पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्। अफिमसहित पक्राउ परेका कुर्मीलाई इलाका प्रहरी कार्यालय पोखरीयाकै हिरासतमा राखेर थप अनुसन्धान कार्य भइरहेको उनले बताइन्।