पञ्‍चले कानुन हातमा लिएपछि…….. – Madhesh Update

पञ्‍चले कानुन हातमा लिएपछि……..

   October 6, 2020  

पीडकसँग पीडितको मिलापत्र गराएको अरोपमा प्रदेश–२ बाट १२ जना पञ्च पक्राउ

बलात्कार घटनामा पीडकसँग पीडितको मिलापत्र गराएको अरोपमा प्रदेश–२ बाट १२ जना पञ्च पक्राउ परेका छन् । असोज १ गते यता सप्तरीबाट ३, सिरहाबाट ८ र धनुषाबाट १ गरी १२ जना पक्राउ परेका नम्बर–२ प्रदेश प्रहरी कार्यालय जनकपुरधामका डीआइजी धिरजप्रताप सिंहले जानकारी दिए । आर्थिक दण्डजरिवाना गरी गाउँमै घटना मिलाएको आरोपमा उनीहरुमाथि मद्दा चलाइएको हो ।

जघंन्य अपराधमा पञ्चैती गर्नेहरु विरुद्ध प्रहरी कठोर भएर प्रस्तुत भएको डीआइजी सिंहले बताए । जघन्य अपराधका घटनामा मिलापत्रले पीडितलाई झन पीडा दिन्छ,उनले भने ।

सामान्य झैंझगडा बाहेकका घटना गाउँमै पञ्चैयती गराएको खण्डमा प्रहरीलाई हस्तक्षेप गरी उनीहरुलाई कारवाही गर्न प्रहरी हेटक्वारकै निर्देशन छ । महिला हिंसा, बलात्कार, हत्या जस्ता जघंन्य अपराधका घटनामा पनि पञ्चैत गरेर मिलापत्र गराउन पञ्चहरु पछि पर्दैनन् ।

प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको हालसम्म प्रदेश २ का आठवटै जिल्लामा बलात्कारका ७६ वटा उजूरी दर्ता भएका छन् । आर्थिक वर्ष २०७४/०७५ मा प्रदेशका आठ जिल्लामा एक सय ७० वटा बलात्कारका मुद्दा दर्ता भएका थिए । त्यस्तै २०७५/०७६ मा दुई सय ९६ र २०७६/०७७ मा दुई सय ८५ वटा बलात्कारका मुद्दा प्रहरीले अनुसन्धान गरेको थियो ।

यो त भयो प्रहरीमा दर्ता भएका घटनाको एक तथ्यांक । धेरैजसो गाउँका घटना प्रहरीसम्म आइपुग्दैनन् । पञ्चहरुले गाउँमा मेलाउँदै आएका छन् ।