बलत्कार घटनाका दोषीलाई कारवाही गर्न माग गर्दै जनकपुरमा प्रर्दशन – Madhesh Update

बलत्कार घटनाका दोषीलाई कारवाही गर्न माग गर्दै जनकपुरमा प्रर्दशन

   October 5, 2020  

देशभर बलात्कारका घटना बढ्दै गइरहेको भन्दै दोषीलाई कारबाहीको माग गर्दै युवाहरूले जनकपुरमा प्रदर्शन गरेका छन् । बलात्कारका घटना रोक्न र दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकार असफल भइरहेको भन्दै ‘युथ एलाइन्स अगेन्स्ट रेप’ ले जनकपुरमा प्रदर्शन गरेको हो ।

एलाइन्सआवद्ध युवाहरू जनकपुरको जनक चोकमा जम्मा भएर नारा जुलुस प्रदर्शन गर्दै जिल्ला प्रहरी कार्यालय पुगेका थिए । जिल्ला प्रहरी कार्यालय गेटमा नारा जुलुस गर्दै उनीहरूले धनुषाको धनुषाधाम–४ की बलत्कृत किशोरी न्याय र बलत्कारीलाई सजाय दिन माग गरेका छन् ।

केही दिनअघि धनुषाधाममा एक किशोरीसँग ७/८ जनाले सामूहिक बलात्कार गरेका थिए । बलात्कारमा संलग्न दुईजना पक्राउ परेपनि अन्य फरार छन् । युवाहरूले फरार अभियुक्तलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

पीडित किशोरीको परिवारलाई पैसाको प्रलोभन दिइ घटना मिलाउन खोज्ने एकजना अभियुक्तका बाबुलाई प्रहरीले केही दिनअघि पक्राउ गरेको थियो ।

पोल पोलमा सरकारले आफ्नो प्रशंसाको पोस्टर झन्ड्याइरहेपनि बलात्कारका घटना रोक्न असफल भएको एलायन्सका सदस्य अमितकुमार पाठकले बताए । बलात्कारलगायतका घटना रोक्न र दोषीलाई कारबाहीको दायरामा ल्याउन युवाहरूले प्रदर्शन गरेको उनले बताए ।