रौतहट नरसंहार- समातिएका हेडमिस्त्री सहनीले स्वीकारे अपराध
१२ बर्षपछि पक्राउ परेका रौतहट नरसंहार काण्डका आरोपी तथा इँटाभट्टाका हेडमिस्त्री बद्री सहनीले अपराध स्वीकारेका छन् । राजपुर नगरपालिकाको फरदहवाको बमकाण्डका मृतक तथा घाइतेलाई बोरामा राखेर इँटाभट्टामा हालेर जलाएको मिस्त्री सहनीले स्वीकार गरेको प्रदेश प्रहरीले जनाएको छ ।
प्रदेश २ प्रहरी र बारा प्रहरीको संयुक्त प्रयासमा असोज १६ गते रौतहटको बौधीमाई नगरपालिकाको बडकी बंकुलस्थित नेपाल भारत सिमा क्षेत्रबाट भारतीय प्रहरीको सहयोगमा पक्राउ परेका हेडमिस्त्री सहनीसँग प्रहरीले लिएको प्रारम्भिक बयानमा आरोप स्वीकार गरेको हो ।
इँटाभट्टामा हेडमिस्त्रीको रुपमा कार्यरत सहनीले बम विस्फोटको घटनामा कुनै संलग्नता नरहेपनि इँटाभट्टामा घाइते र मृतकलाई जलाउने घटनामा आफ्नो संलग्नता रहेको स्वीकार गरेको प्रदेश प्रहरी प्रमुख डीआईजी धीरज प्रताप सिंहले जानकारी दिए ।
प्रारम्भिक बयानमा सहनीले नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री समेत रहेका मोहम्मद आफताफ आलम र उनका भाइ मोहम्मद मोहताव आलमको निर्देशनमा उनीहरूले नै ल्याएका शवलाई इँटाभट्टामा जलाएको बयान दिएका छन् ।
डीआईजी सिंहका अनुसार निलम्बित संघीय सांसद आलम र उनका भाइ मोहम्मद मोहताव आलमले भनेपछि सहनीसहितको केही व्यक्तिले शवलाई इँटाभट्टामा हाल्ने काम गरेको सहनीले बयान दिएको छ ।
उक्त घटनामा शव व्यवस्थापनको मुख्य भूमिका निर्वाह गरेका सहनीले पनि कति जनालाई इँटाभट्टामा जलाइएको हो भन्ने बारेमा अहिलेसम्म केही बताएका छैनन् ।
राजपुर बमकाण्डमा घाइते भएका रौतहट यमुनामाई सरुअठाका पिन्टु भनिने त्रिलोकप्रताप सिंहको बुबा श्रीनारायण सिंहले सर्र्वोच्च अदालतमा रिट हालेर अफताव आलमसहित ११ जनामाथि किटानी जाहेरी दिँदा २०७६ साल असोज २६ मा उनलाई पक्राउ गरी सरकारी वकिलको कार्यालय मार्फत अदालतमा पेश गरिएका थिए । जिल्ला अदालत रौतहटको आदेशअनुसार हाल आलम पुर्पक्षका लागि केन्द्रीय कारागारमा छन् ।
राजपुर घटनाका प्रत्यक्षदर्शीले बम विस्फोटमा घाइते र मृतक गरी २३ जना घाइतेलाई जिउँदै इँटाभट्टामा हालेको बताउँदै आएका छन् । तर अहिलेसम्म २ जनालाई मात्र इँटाभट्टामा जलाइएको पुष्टि भएको छ ।
आलमका काका नेता स्व। शेख इद्रिशको गोठमा पहिलो संविधानसभाको निर्वाचनको पूर्वसन्ध्यामा २०६४ साल चैत २८ गते साँझ ७ बजेको समयमा मतदान केन्द्र कब्जा गर्ने उद्देश्यबाट बनाउँदै गरेको बम विस्फोट हुँदा घटनास्थलमै ३ जनाको मृत्यु भएका थियो ।
बम बिष्फेटनमा परेर डेढ दर्जनभन्दा बढि व्यक्ति गम्भीर घाइते भएको स्थानीयहरुले बताउँदै आएका छन् । घटनालाई लुकाउन तात्कालिन स्थानीय प्रहरी प्रशासनको मिलोमतोमा मृतक र घाइतेहरुलाई जिउँदै बोरामा राखेर इँटाभट्टामा जलाएको आरोप लाग्दै आएको छ ।