मधेशमा महंगो बन्दै न्याय- कानुनी कारबाहीको सटा मेलमिलापमा प्रहरी-प्रशासनकै जोडवल – Madhesh Update

मधेशमा महंगो बन्दै न्याय- कानुनी कारबाहीको सटा मेलमिलापमा प्रहरी-प्रशासनकै जोडवल

   October 2, 2020  

कुटपिट गर्ने समूहलाई कारबाही गर्नुको सट्टा प्रहरीले उल्टै मिल्न दबाब दिएको वीरगन्जको एक परिवारले आरोप लगाएको छ । न्याय माग्दै उनीहरूले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरे ।

वीरगन्ज महानगरपालिका–२३ प्रसौनीका राकेशकुमार साहले उक्त समूहले घरमै प्रवेश गरी आफ्नी आमा, छोरी र भाइलाई निर्घात कुटपिट गरे पनि प्रहरीले राजनीतिक दबाबमा २४ घण्टामै छाडिदिएको गुनासो गरे । साहका अनुसार असोज १३ गते बिहान घरैअगाडि गाउँकै अजय पासवानलाई स्थानीय ५–६ जनाको समूहले कुटपिट गरेको देखेपछि उनीहरू गएर छुट्ट्याएका थिए । त्यसैको निहुँमा उक्त समूहले थप सहयोगी बोलाएर साहको घरमै प्रवेश गरेर परिवार सदस्यलाई कुटपिट गरेको हो ।

‘३ वर्षीया छोरी आरुषी, ४५ वर्षीया आमा धर्मशीला देवी, २२ वर्षीय भाइ सुजित साह, छिमेकी निरज श्रेष्ठ र म स्वयम्लाई कुटपिट गरे,’ साहले भने, ‘आमा अहिले वीरगन्जको एलएस न्युरो अस्पतालमा उपचाररत हुनुहुन्छ, भाइको अनुहारमा दुईवटा टाँका लागेको छ । पिटाइले छोरी बिरामी परेकी छिन् । बिहीबार रातिदेखि ज्वरो आएपछि शुक्रबार अस्पताल ल्याएको छु ।’

कुटपिटबाट पासवानको दाहिने हातको बूढीऔला भाँचिएको छ । वीरगन्जकै सूर्य अस्पतालमा भर्ना भएका पासवानको औँलामा स्टिल हालेर प्लास्टर गरिएको उनका बुबा रमेशले बताए । गाउँका चौकीदारसमेत रहेका रमेशका अनुसार असोज १२ गते राति गाउँको एक बिहेमा आयोजित डिजेमा युवाहरूबीच विवाद भएको थियो । ‘हात जोडेर राति नै विवाद मिलाएका थियौँ,’ उनले भने, ‘तर, भोलिपल्ट निर्घात कुटपिट गरे, घरमा प्रवेश गरेर बच्चा र आइमाईलाई पनि कुटे ।’

कुटपिटमा संलग्नहरूविरुद्ध उजुरी परेपछि वडा प्रहरी कार्यालय श्रीपुरले स्थानीय मनिफ अन्सारी, नुर्सेद अन्सारी, कमरोदा अन्सारी र खुर्सेद अन्सारीलाई असोज १३ मै नियन्त्रणमा लिएको थियो । ‘तर, राजनीतिक दबाब बढेपछि पक्राउ गरेको भोलिपल्टै रिहा गर्‍यो । हामी पीडितलाई प्रहरीले थप पीडा दिने काम गरेको छ,’ साहले भने, ‘आमा र छोरी अस्पतालमा छन्, प्रहरी भने पीडकसँग गाउँमै मिल्नुस् भनेर दबाब दिन्छ ।’ असोज १८ सम्म प्रहरीले जाहेरी नलिए भने बाध्य भएर सडक संघर्षमा जाने उनले बताए ।

वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक दीपक साहका अनुसार चारै जनालाई दैनिक तारिख हाजिरीमा आउने गरी छाडिएको हो । ‘अर्को पक्षका पनि दुई जनालाई चोटपटक लागेको छ,’ उनले भने, भने, ‘साहको पक्ष नआएपछि रिहा गरेका हौँ ।’ अर्को पक्षले पनि जाहेरी दिएको उनले सुनाए ।

समाचार स्रोत-इकान्तिपुर