धनुषामा सामुहिक बलात्कार घटनामा १२ लाख रुपैँयाको दबाब दिने एक पक्राउ – Madhesh Update

धनुषामा सामुहिक बलात्कार घटनामा १२ लाख रुपैँयाको दबाब दिने एक पक्राउ

   September 26, 2020  

धनुषामा सामुहिक बलात्कारको शिकार भएकी किशोरीलाई आर्थिक प्रलोभन र धम्की दिँदै मिल्न दबाब दिने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पीडित परिवारलाई १२ लाख रुपैयाँ लिएर मिल्न दबाब दिएको र नमिले ज्यान मार्ने धम्की दिने धनुषाधाम नगरपालिका–२ धर्मपुरका सत्यनरायण यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

सबैला नगरपालिका–१२ रघुनाथपुरकी १५ वर्षीया दलित किशोरीको सामूहिक बलात्कारमा संलग्न श्यामसुन्दर यादवलाई बचाउन उनका बुबा सत्यनरायणले पीडित परिवारलाई १२ लाख रुपैयाँ लिएर मिल्न दबाब दिएको अरोप लागेको छ ।

शनिवार विहानै पक्राउ परेका यादवलाई हिरासतमा राखि अनुसन्धान थालिएको धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले बताए । पक्राउ परेका यादवले पीडित किशोरीकी आमा बुवा गाउँ नजिकैको विद्यालयमा बोलाएर घटना मिलाउन दबाब दिएका थिए ।

धनुषाधाम नौसयबिग्हास्थित दिदीको घरमा बिहे भोज खान गएकी किशोरीलाई भदौ १ गते साँझ करिब ६ बजे रघुनाथपुर फर्किंदै गर्दा धर्मपुरनजिक १४–१५ जना युवाले घेराउ गरे किशोरीसँगै रहेका दुई युवालाई कुटपिट गर्दै सडकमा बन्धक बनाएर किशोरीलाई करिब ३ किलोमिटर पर धान खेतमा लगेर सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कार गर्ने ८ जनालाई जिल्ला प्रहरी कार्यालयले जबर्जस्ती करणी मद्धा चलाएको छ ।