रौतहट दलीत हत्या घटना – आठ प्रहरी माथी कारबाही सिफारिश

हत्या आरोपमा पक्राउ परेका एक दलित युवकलाई प्रहरी हिरासतमा चर्को यातनापछि मृत्युवरण गर्न बाध्य बनाएको आरोपमा रौतहट प्रहरीका तत्कालीन प्रहरी उपरीक्षक सहित आठ जनालाई कारबाही गर्न सिफारिश गरिएको छ ।
गृहमन्त्रालयले गठन गरेको घटना अध्ययन तथा छानबिन समितिले कारबाहीको सिफारिश गरेको हो । मृतक युवाका परिवारसहित गठित दलित संयुक्त संघर्ष समितिले प्रहरीउपर कारवाही नभएसम्म आन्दोलन उग्र बनाउँदै लैजाने रणनीति अख्तियार गरेपछि गृहमन्त्रालयले उपसचिव डोलेन्द्र निरौलाको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।
त्यो छानबिन समितिले घटनाको स्थलगत अध्ययन गरी गृहमन्त्रालयमा प्रतिवेदन पेश गरिसकेको छ । समितिका एक अधिकारीका अनुसार तत्कालीन प्रहरी अधिकारीहरुको चरम लापरबाही र हेलचक्र्याईका कारण हिरासतमा रहेका अभियुक्तको मृत्यु भएको निष्कर्ष निकालिएको छ । हत्या अभियोगमा पक्राउ परेका अभियुक्तलाई हिरासतमा चरम यातना दिइएकोसमेत ठहर गर्दै समितिले तत्कालीन प्रहरी उपरीक्षकसहितका प्रहरी अधिकारीउपर कारबाहीको सिफारिश गरेको हो ।
को को परे कारबाही सिफारिशमा
रौतहटका तत्कालीन प्रहरी उपरीक्षक रविराज खडका, इलाका प्रहरी कार्यालय गरुडामा कार्यरत प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतो, प्रहरी निरीक्षक नवीनकुमार सिंह, प्रहरी नायव निरीक्षक वीरेन्द्र यादव, प्रहरी हवल्दारहरु मुन्नुकुमार सिंह र हिरोज धुनिया तथा प्रहरी जवानद्वय अजय यादव र रुपेश कुशवाहालाई कारबाहीको सिफारिश गरिएको छ । यसअघि छानबिनकै क्रममा प्रहरी प्रधान कार्यालयले प्रनि सिंह, प्रनानि यादव, प्रहरी हवल्दारद्वय सिंह र धुनियालाई निलम्बन गरेको थियो भने प्रहरी उपरीक्षक खडका र प्रनाउ महतोलाई रौतहटबाट अन्यत्र सरुवा गरेको थियो । समितिले प्रतिवेदन गृहमन्त्रालयमा बुझाइसकेको छ । गृहले प्रतिवेदन कार्यान्वयनका लागि प्रहरी प्रधान कार्यालयमा पठाउने तयारी गरेको स्रोतले जनाएको छ ।