समान्य बन्दै विरगंज – Madhesh Update

समान्य बन्दै विरगंज

   September 20, 2020  

साउनमा सरकारले लकडाउन हटाए संगै प्रदेश दुईमा पर्ने एक मात्र महानगर विरगंज कोराना संक्रमणवाट देशमै सबै भन्दा वढी प्रभावित हुन पुग्यो । महानगरका मेयर, त्याहावाट प्रतिनिधीतव गर्ने प्रतिनिधीसभा सास.द समेत संक्रिमत भए पछि विरगंजलाई लिएर देशैभरी त्रासको वातावरण सिर्जना भयो ।तर पछिल्लो केहि हप्ता यता विरगज सहज हुन थालेको छ ।

भदौ दोस्रो सातादेखि पर्सामा कोरोना संक्रमित भन्दा संक्रमण मुक्त हुनेहरुको संख्या धेरै देखिन थाले पछि विरगंज सहित सम्पुर्णपर्साको जनजीवन समान्य तर्फ उन्मुख भउकोछ । १० भदौमा १९ जनामा संक्रमण पुष्टि हुँदा ६६ जना डिस्चार्ज भए भने ११ गते २४ जनामा कोरोना देखिँदा १०३ जना कोरोनामुक्त भए । १२ भदौमा ५७ जनाको रिपोर्ट पोजेटिभ आउँदा ३९ जना र १३ गते ३१ जनामा कोरोना देखिँदा ६१ जना कोरोनामुक्त भए । संक्रमितको मृत्यु हुने क्रमले भने चलिरह्यो ।

भदौ १७ गते १४ जनामा कोरोना संक्रमण पुष्टि हुँदा १०९ जना संक्रमणमुक्त भएका थिए । जिल्ला प्रशासन कार्यालय पर्साले भदौ १८ गते सार्वजनिक गरेको विवरण अनुसार त्यस दिनसम्म कोरोना संक्रमितको संख्या २३४४ पुगेको थियो । संक्रमित हुनेमा २४ जना भारतीय नागरिक, १३६ जना स्वास्थ्यकर्मी, १२० जना सुरक्षाकर्मी, १४ पत्रकार, १२० कैदी–थुनुवा, ४९ अस्पतालका सफाइकर्मी, गार्ड, कार्यालय सहयोगी र ३ जना एम्बुलेन्स चालक थिए । भदौ १८ सम्म १२७३ जना कोरोनामुक्त भएका थिए भने ३९ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाए ।

पछिल्लो साता दैनिक भेटिने संक्रमितको संख्या अझ घटेको छ । भदौ २३ गते ६ जना, २४ गते ७ जना, २५ गते २ जना, २६ गते ९ जना, २७ गते ३ जना, २८ गते ८ जना, २९ गते ९ जना र ३० गते १ जना संक्रमित भेटिएका छन् ।

पर्सामा १८३३ जना कोरोनामुक्त भई घर फर्किएका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ । कोभिड अस्पतालमा ३४ जना उपचाररत छन् भने होम आइसोलेसनमा २३ र सामुदायिक आइसोलेसनमा ७४ जना छन् । नयाँ संक्रमितको संख्या घटेसँगै २४ भदौबाटै १२० वेडको वीरगञ्ज हेल्थ केयर आइसोलेसन बन्द भएको छ । होटल र सामुदायिक आइसोलेसनमा पनि संक्रमित कम भएका छन् । यो पर्सामा सुखद संकेत मानिएको छ ।

‘ग्रिन जोन’ उन्मुख विरगंज

संक्रमण घटेसँगै १९ भदौयता जिल्लामा निषेधाज्ञा खुकुलो बनाइएको छ, सार्वजनिक यातायातका साधन नचले पनि पसल खुलेका छन् र बजारमा चहलपहल विस्तारै बढेको छ ।

तर संक्रमित कम भेटिएकै आधारमा पर्सा कोरोना संक्रमणमुक्त जिल्ला अर्थात ‘ग्रिन जोन’ बन्न लाग्यो भन्नु गलत हुने जनस्वास्थ्य विज्ञहरुले बताएका छन् । परीक्षणको दायरा खुम्चिएकाले संक्रमित कम भेटिएको त होइन भन्ने उनीहरुको प्रश्न छ ।

हुन पनि पछिल्ला दिनमा जिल्ला प्रशासन कार्यालयले थालेको मास टेष्टिङ र वीरगञ्ज महानगरपालिकाको ‘एक घर एक पीसीआर’ अभियान सेलाएको छ । अहिले संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका, कोरोनाको लक्षण देखिएका र विभिन्न कामले अन्यत्र जानु परेकाहरुको मात्र पीसीआर टेष्ट हुने गरेको छ ।

कोभिड अस्पताल, गण्डकका संयोजक डा उदयनारायण सिंह पनि अहिले नै पर्सा ‘ग्रिन जोन’ बन्न लाग्यो भन्ने निष्कर्ष निकाल्नु हतार हुने बताउँछन् । ‘समुदायस्तरमै कोरोना फैलिएको ठाउँमा एकातिरको चेन ब्रेक भएपनि अर्कोतिर संक्रमण बाँकी नै हुनसक्छ’, उनले भने, ‘परीक्षण र स्वास्थ्य सुरक्षा सतर्कता अबलम्बन गर्न चुक्यौं भने फेरि पुरानै अवस्था दोहोरिनसक्छ ।’

उनका अनुसार, अहिले पनि नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचार गराउन आउनेमध्ये आधाभन्दा बढीमा संक्रमण देखिने गरेको छ । व्यक्ति व्यक्तिबीच भौतिक दुरी कायम राख्ने, मास्क लगाउने, साबुन पानीले हात धुने जस्ता सुरक्षा सतर्कतामा लापरबाही भयो भने संक्रमण फेरि फैलिनसक्ने डा सिंहले बताए ।

नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट सञ्जय ठाकुर पनि लापरबाही भए स्थिति पूनः बिग्रनसक्ने बताउँछन् । ‘बजार पुरै खुल्दैछ, ठूला चाडबाड नजिकिँदैछन्’, उनी भन्छन्, ‘मास्क नलगाउने, सामाजिक दुरी कायम नगर्ने र साबुन पानीले हात नधुने जस्ता लापरबाही भयो भने त संकट अवश्यंभावी छ ।’

त्यसैले स्वास्थ सुरक्षामा कुनै लापरबाही नगर्न वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीको अपिल छ । ‘कसैले लापरबाही नगर्नु होला’, कोरोना नियन्त्रणकै दौडधुपमा आफैं संक्रमित भएका उनी भन्छन्, ‘पसलमा पनि लाइन लागेर एक–एक जनाले किनमेल गरिदिनु होला, सचेतना नै यो संकटको निदान छ ।’