जनकपुर-जयनगर रुटमा चल्ने पुरानो रेल संरचना लाई संग्रहालय बनाउने तयारी

जीर्ण अवस्थामा पुगेर बन्द भइसकेको नेपालको एक मात्र रेल्वे सेवा जनकपुर जयनगर नेरोगेज रेलको इन्जन तथा संरचनालाई संरक्षण तथा व्यवस्थापनका लागि संग्रहालयय बन्ने भएको छ।
नेपाल रेल्वे कम्पनीले जनकपुर र खजुरीमा रहेको पुरानो रेल्वेका इन्जिन, बोगी, डब्बा, पार्टपूर्जा लगायतका संरचनाहरु राखेर संग्रहालयको रुपमा बिकास गर्ने योजना अघि सारेको हो।
झण्डै ७ वर्षअघि जीर्ण भइसकेको जनकपुरदेखि विजलपुरासम्म चल्ने नेरोगेज रेल्वेका इन्जिन लगायतका पार्टपूर्जा संरक्षणको अभावमा धनुषाको जनकनन्दनी गाउँपालिको खजुरी खजुरी स्टेशन र जनकपुर स्टेशनमा अलपत्र अवस्थामा छरिएर रहेका छन् ।
इतिहास भइसकेको पुरानो नेरोगेज रेल्वेका इन्जिन लगायतका संरचनालाई संरक्षण सम्बर्धन एवं अवलोकनका लागि संग्रहालय स्थापना गर्ने लक्ष्य लिएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताए ।
‘ब्रिटिसले चलाएको स्टिम इन्जिनको इतिहास २ सय बर्ष पुरानो छ। यो इन्जिन जर्मनमा निर्माण भएको हो र यो अहिले नेपालबाहेक दुनियाँमा अन्त कहि छैन,’ भट्टराईले भने, ‘यस्तो महत्वपूर्ण पुरानो रेल्वे संरचनाहरुलाई संरक्षण गर्दै संग्रहालयको रुपमा विकास गर्न स्थानीय तहसँग पहल सुरु गरेको छु।’
सञ्चालनको लागि तयारी अवस्थामा रहेको ब्रोडगेज रेल तथा रेल हस्तान्तरण कार्यक्रममा जनकपुरदेखि खजुरीसम्मको निरीक्षण गर्दा संग्रहालय बनाउने विषयमा एक स्थानीय नेतासंग छलफल भएको उनले बताए।
संग्रहालय स्थापनाको लागि नेपाल रेल्वे कम्पनीले केहि बजेट समेत छुट्याएको उनको भनाइ छ।
‘रेल्वे हस्तान्तरण कार्यक्रममै पुगेको बेला केहि स्थानीय नेता र प्रतिनिधिसँग छलफल गरेँ। उनीहरुले खजुरीबाट पुरानो रेल्वे संरचना बाहिर लग्न नदिने अडान लिए। खजुरीमा अथवा अन्य कुन ठाउँ उपयुक्त हुन्छ। सबैको अवलोकनको लागि हामी स्थानीय सरकारसँग समन्वय गरेर संग्रहालय निर्माण गर्ने लक्ष्य लिएका छौं,’ भट्टराईले योजना सुनाए।
पहिलो प्राथमिकतामा जनकपुर–जयनगर ब्रोडगेज रेल सञ्चालन गर्ने आवश्यक तयारी गरिरहेको बताउँदै उनले सञ्चालनपछि पुरानो संरचनाको लागि संग्रहालय निर्माण प्रक्रिया अघि बढाउने जानकारी दिए।
भट्टराईले पुरानो रेल्वे संरचनाहरु लिलाम गरेर कौडीको भाउमा बेच्ने कुरा चलिरहेको तर त्यो संरचना विश्वमा बिरलै भेटिने भएकाले त्यससँग जोडिएको नेपालको रेलवे इतिहासलाई बचाइ राख्न संग्रहालय बनाएर व्यवस्थित गर्ने योजना बनाएको बताए।
भारतमा अधिपत्य जमाएका अंग्रेजहरुले चुरेबाट काठ ढुवानीका लागि वि।सं १९९४ मा भारतको जयनगरदेखि महोत्तरीको विजलपुरासम्म रेलसेवा सञ्चालन गरेका थिए।
पछि सो रेलवे सेवा जनकपुरदेखि जयनगरसम्म मात्र सीमित भयो। जुन धनुषाको पूर्वी भेगका जनताका लागि एकमात्र यातायातको साधनको रुपमा रह्यो।
अत्यन्त जीर्ण अवस्थामा पुगेको नेरोगेज रेल झण्डै सातवर्ष अघि बन्द भएको थियो। अब नेरोगेज रेलको सम्पूर्ण संरचना हटाएर ब्रोडगेज रेलको संरचना निर्माण भइसकेको छ भने त्यहाँ सञ्चालनका लागि भारतबाट दुईवटा रेल ल्याइएको छ।
-यो समाचार नेपालखवरमा शैलेन्द्र महतोले लेखेका छन ।