बन्धनमुक्त भएर घर फर्किए शिवचन्द्र र मिलयादेवी – Madhesh Update

बन्धनमुक्त भएर घर फर्किए शिवचन्द्र र मिलयादेवी

   September 16, 2020  

उपचार खर्च नपाएर दुई महिनादेखि अस्पतालमा बन्धक बनाइएका शिवचन्द्र सदा र मिलयादेवी बन्धन मुक्त भएका छन् । प्रदेश २ का मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाको पहलमा उनीहरु मंगलबार दिउँसो अस्पतालबाट घर फर्किएका हुन् ।

गाउँका तथाकथित ठूला जातिका मानिसबाट मरनासन्न हुनेगरी कुटाई खाएर घाइते उनीहरुले अस्पतालमा उपचार खर्च तिर्न सकेनन् । उपचार खर्च तिर्न नसकेर दुई महिनादेखि अस्पतालमा बन्धक रहेका थिए ।

उनीहरुलाई मुक्त गर्न मुख्यमन्त्री लालबाबु राउतले यसअघि नै अस्पतालको रकम तिर्ने निर्णय गरे पनि कर्मचारीहरुले फाइलमाथि फाइल खडा गर्नै रकम निकाशामा ढिलासुस्ती गर्दै आएको पाइएको छ ।

महान्यायाधिवक्ता झाले अस्पतालमा उपचार खर्चको व्यवस्था गर्नुका साथै उनीहरुलाई घर पठाउन एम्बुलेन्सको व्यवस्थापन समेत गरिएको जानकारी दिए । सदा दम्पत्ति घरतिर लागेको तस्बिर सार्वजनिक गर्दै महान्यायाधिवक्ता झाले उनीहरुको विषय उठान गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

पछिल्लो समयमा घटनाको बारेमा विभिन्न समाचारहरु छापिएको छ । रिट्वीट गर्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले लेखे, ‘यो राज्य कहिल्यै गरीबको थिएन । दलित महादलितको त छँदै थिएन । हामीले जनयुद्ध हुँदै शान्तिप्रक्रिया कालको सरकारसम्म यसलाई बदल्न खोज्यौं । तर सकिएन बरू उल्टै आफैं बदलिएछौं ।’

उनले अगाडि लेखेका छन्, ‘प्रधानमन्त्री छँदा कर्मचारीलाई सधैं प्रक्रिया हैन परिणाम हेर्नोस् भन्थें तर आजसम्म उस्तै छ । म लज्जित छु । अर्को क्रान्ति जरूरी छ ।’

भट्टराई लगायत सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उठाएको मुद्दालाई सम्बोधन गर्दै प्रदेश २ का महान्यायाधिवक्ता झाले लेखे, ‘प्रदेश २ को सरकारले एक लाख पचास हजार दिने निर्णय गत विहिवार नै गरेको थियो । प्रकृयामा ढिलाई भयो, यसकारण क्षमाप्रार्थी छु ।’

उनी सामाजिक सञ्जालमा लेखेर मात्रै बसेनन् । तत्कालै गोल्डेन हस्पतालका सञ्चालक मध्येका एक सनातन मण्डललाई फोन गरे र प्रदेश सरकार जवानी बसेकोले मुक्त गरिदिन आग्रह गरे ।
झाले प्रदेश प्रहरी प्रमुखलाई यस विषयमा तत्काल काम अगाडि बढाउन घच्घचाइरहे ।

प्रक्रियामा अल्झिने सरकारी कामबारे झा भन्छन्, ‘दुर्भाग्य नै मान्नु पर्दछ, प्रतिक्रियावादीलाई परास्त गर्‍यौं, प्रक्रियावादीहरु अझै जनताको सरोकारको बिषय ढिलो गर्छन् ।’

दोहोरो-तेहेरो अन्यायमा परेका दलित दम्पत्ति सप्तरीको महुलीका स्थानीय बासिन्दा हुन् । उनीहरूलाई कुट्ने तारेखमा छुटिसकेका छन् तर, गरिबीका कारण कुटाइ खानेहरू भने दुई महिनादेखि विराटनगरको गोल्डेन हस्पिटलमा बन्धक बनाइएका हुन् । घाउचोटको उपचारको पैसा तिर्न नसकेपछि अस्पतालले बन्धक बनाउँदै आएको थियो ।

उनीहरुले बन्धक बनाइएको दुई महिनासम्म अन्य बिरामीका आफन्तले दिएको खाना खाएर अस्पतालमा दिन कटाउँदै आएका थिए ।