रौतहटका २ स्थानीय तहद्वारा कोरोना नियन्त्रणमा भएको खर्च विवरण सार्वजनिक – Madhesh Update

रौतहटका २ स्थानीय तहद्वारा कोरोना नियन्त्रणमा भएको खर्च विवरण सार्वजनिक

   September 14, 2020  

रौतहटको दुई स्थानीय तहले कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि भएको खर्च विवरण सार्वजनिक गरेको छ । रौतहटको मौलापुर र गुजरा नगरपालिकाले खर्च विवरण सार्वजनिक गरेको हो ।

मौलापुर नगरपालिकाको आर्थिक प्रशासन शाखाले आइतबार एक सूचना प्रकाशन गरी खर्च विवरण सार्वजनिक गरेको छ ।

क्वारेन्टिन निर्माण, व्यवस्थापन तथा संचालन खर्चमा २५ लाख ३९ हजार पाँच सय २४ रुपैयाँ र १ हजार ३ सय २६ घर परिवारलाई पहिलो चरणको राहत वितरणमा १४ लाख ४० हजार रुपैयाँ खर्च भएको सार्वजनिक विवरणमा उल्लेख छ ।

त्यसैगरी दोस्रोे चरणामा ४ हजार १ सय घर परिवारलाई राहत वितरण गर्दा ४५ लाख १२ हजार चारसय रुपैयाँ,कोरोना संक्रमण रोकथाम सम्वन्धी औषधी तथा सुरक्षा सामग्री खरिदमा २० लाख १७ हजार ६ सय १९ र एम्वुलेन्स भाडा, बस भाडा, सूचना प्रशारण लगायतका विविध खर्चमा ३ लाख २२ हजार २ सय ५५ खर्च भएको सूचनामा उल्लेख गरेको छ ।

कोरोना भाइरस नियन्त्रण तथा राहत वितरणमा गरी मौलापुर नगरपालिकाको कुल १ करोड ८ लाख ३१ हजार ७ सय ९८ रुपैयाँ खर्च भएको मेयर रिनाकुमारी साहले जानकारी दिइन् ।

नगरपालिकाका अनुसार प्रदेश सरकारबाट प्राप्त अनुदान सहितको जम्मा रकम सार्वजनिक गरिएको हो ।

यस्तै गुजरा नगरपालिकाले पनि खर्च विवरण सार्वजनिक गरेको छ । गुजरा नगरपालिकाले कोरोना नियन्त्रण राहत, कर्मचारीहरुको बिमा तथा जोखिमभता लगायत शीर्षकमा कुल ५ करोड, २४लाख, ४७ हजार, दुईसय ६७ रुपैयाँ ५६ पैसा खर्च भएको जनाएको छ ।

यसैबीच कारोना भाइरस नियन्त्रण र जोखिम व्यवस्थापनमा अन्य स्थानीय तहले भने हालसम्म विवरण सार्वजनिक गरेका छैनन् । रौतहटमा १८ स्थानीय तह रहेको छ ।