पूर्वमन्त्री विश्वेन्द्र पासवानद्धारा प्रहरीले बन्दी बनाएको आरोप – Madhesh Update

पूर्वमन्त्री विश्वेन्द्र पासवानद्धारा प्रहरीले बन्दी बनाएको आरोप

   September 9, 2020  

प्रहरीको थुनाभित्र मृत्यु भएका विजय रामको हत्यारालाई कारवाहीको माग गर्दै आमरण अनसनमा बसेका पूर्वमन्त्री विश्वेन्द्र पासवानले आफूलाई प्रहरीले होटलमा बन्दी बनाएको आरोप लगाएका छन् ।

उनले आफूलाई सिरहाको मिर्चैयास्थित होलिडे होटलभित्र राखेको बताएका छन् । ‘घर जान खोज्छु, घर पनि जान दिइरहेको छैन’ उनले भने ।

रौतहटको गरुडास्थित इलाका प्रहरी कार्यालय अगाडि आमरण अनसन बसेका पासवानलाई १८ भदौको राति प्रहरीको टोलीले धरान पुर्‍याएको थियो । स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि प्रहरीले उनलाई धरान लगी उपचार गराएको थियो ।

चार दिनअघि उनलाई सिरहा ल्याइएको छ । सिराहामै स्वाब संकलन गरी राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा परीक्षण गराउँदा उनको रिपोर्ट नेगेटिभ आएको छ ।

रिपोर्ट नेगेटिभ आउँदा पनि होटलको एउटा कोठाभित्र पासवानलाई राखिएको उनका स्वकिय सचिव रोशन पासवानको भनाइ छ । अहिले पासवानलाई शरीरमा कुनै समस्या नरहेपनि घर जान पनि रोक लगाएको रोशनले बताए ।